सामाजिक विकास मन्त्रालयको निशुल्क बितरण गर्नुपर्ने औषधी खरीदको टेण्डर तेस्रो पटक आह्वान

सामाजिक विकास मन्त्रालयको निशुल्क बितरण गर्नुपर्ने औषधी खरीदको टेण्डर तेस्रो पटक आह्वान

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र निशुल्क बितरण गर्ने औषधी आपुर्तिका लागि तेस्रो पटक टेण्डर आह्वान गरेको छ । बैशाख २५ गते सात दिनको म्याद राखेर आह्वान गरिएको टेण्डरमा स्पेसिफिकेसन गर्दा एक मात्रै आपुर्तिकर्तालाई सहज हुने गरी ब्यवस्था मिलाइएको छ ।

औषधी र सर्जिकल सामग्री गरी जम्मा १ सय ७१ किसिमका औषधीको लागि मागिएको टेण्डरमा तीन वटा इन्जेक्सनहरु यस्ता राखिएका छन् जसको आधिकारिक बिक्री प्रमाणपत्र सुदूरपश्चिम प्रदेशका लागि डि.बी. मेडिसिन सेन्टरसित मात्रै छ । यसपटकको टेण्डरमा डिबी मेडिसिन सेन्टरले आधिकारिक पत्र ल्याउन नसकेका भारतीय कम्पनीका दुई औषधी हटाइएको छ । 

तेस्रो तथा अन्तिम पटक भनिएको टेण्डरमा यसपटक नेशनल हेल्थकेयर कम्पनीको उत्पादन एलर्जी बिरुद्धको इन्जेक्सन एट्रोपिन, बेहोस बनाउने इन्जेक्सन डाइजेपाम र पेट दुखाई कम गर्ने हायेस्क्यान एन्जेक्सन आपुर्ति गर्नुपर्ने उल्लेख गरिएको छ । यो औषधी बिदेशी कम्पनीहरुले समेत नेपालमा आयात नगर्ने औषधी बिक्रेताहरुले बताएका छन् ।

यी तिनै उत्पादनको बिक्रीका लागि नेशनल हेल्थ केयरले धनगढी डिबि मेडिसिनलाई मात्रै आधिकारिता दिएको छ ।अलग अलग औषधीको नभएर प्याकेजमै टेण्डर मागिएका कारण जसले यी तीनवटाको पनि अरु संगै आधिकारिता दिन सक्छ उसैले टेण्डर पाउने गरी पहिले नै निर्णय गरिएको छ । यसले गर्दा संस्तोमा पर्न सक्ने टेण्डर महङ्गो परिरहेको छ । मन्त्रालयले २ करोड ४० लाखमा टेण्डर आह्वान गरेको छ ।