विदेशी महिलासँग नेपाली पुरुष पक्राउ

विदेशी महिलासँग नेपाली पुरुष पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधको मुद्दामा विदेशी महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार असार ६ गते लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामा मोरङको विराटनगर महानगरपालिका–१२ स्थायी घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–६ लेक साइडमा बस्दै आइरहेका २६ वर्षीय राज गौतम र चेक रिपब्लिकबाट जारी भएको ४६५७०३३३ नम्बरको राहदानी बाहक ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन् ।

उनीहरू लागुऔषधसँग जोडिएको विषयमा गोप्य सूचना पाएको प्रहरीले उनीहरूलाई पछ्याउँदै आइरहेको थियो ।

उनीहरूलाई शङ्कास्पद अवस्थामा देखेपछि शरीर तथा झोला खानतलासी गर्दा २६ थान एलएसडी (लसर्जिक एसिड डायाथलीमाइड), आइस जस्तै देखिने एम्फेटामाइन चार सय मिलिग्राम र दुई थान मोबाइल बरामद भएको छ ।

उनीहरूमाथि थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।