पार्टी कार्यालयभित्र छिरेर नेताको हत्या

पार्टी कार्यालयभित्र छिरेर नेताको हत्या

भारत। भारतको पश्चिम बङ्गाल पुरुलिया जिल्लाको आद्रामा पार्टीको टाउन समितिका अध्यक्षको गोली हानेर हत्या गरिएको छ । बिहीबार राती अज्ञात समूहले टिएमसी पार्टीका टाउन समितिका अध्यक्ष धनंजय चौबेको पार्टी कार्यालयमा छिरेर गोली हानेर हत्या गरिएको हो ।

चौबेको बडीगार्डलाई पनि गोली लागेको छ । हाल उनको दुर्गापुरको अस्पतालमा उपचार भइरहेको छ । पुरुलियाका प्रहरी अधीक्षक अभिजित बनर्जीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले यो घटनाको सिलसिलामा कांग्रेस उम्मेदवारसमेत दुई जनालाई पक्राउ गरेको छ ।

पुरुलियामा टिएमसी समर्थकले हत्याको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् । पञ्चायत चुनावको घोषणापछि चुनावी हिंसामा भएको यो नवौँ मृत्यु हो । तृणमूल कांग्रेसले यसलाई राजनीतिक हत्या बताउँदै यसका लागि भाजपालाई जिम्मेवार बताएको छ ।

तर भाजपाले आरोप अस्वीकार गर्दै यसलाई टिएमसीको आपसी कलहको नतिजा भएको बताएको छ । प्रत्यक्षदर्शीका अनुसार चौबे आफ्ना बडीगार्ड र ड्राइभरसँग सहरको भिडभाडयुक्त इलाका स्थित पार्टी कार्यालयमा बसिरहेका बेला मोटरसाइकलमार्फत त्यहाँ पुगेका तीन युवकले नजिकैबाट उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

उनलाई पाँच वटा गोली लागेको थियो । उनका बडीगार्ड शेखर दासलाई पनि पेटमा गोली लागेको छ । यो घटनापछि त्यस इलाकामा थप आतङ्क फैलिएको छ ।