सासुको हत्या आरोपमा बुहारी पक्राउ

सासुको हत्या आरोपमा बुहारी पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए । गत बुधबार मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएका थिए ।

प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए । ‘मृतकको घाँटीमा समेत नीलडाम देखिएको छ,’ श्रेष्ठले भने, ‘अदालतमा ५ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।’