अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपाली पक्राउ

अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपाली पक्राउ

काठमाडौँ । अवैध रूपमा सीमापार गर्दै ‘अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ ।

अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए ।

राजदूत तुलाधरका अनुसार नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको छ । ‘एक जनाले त अमेरिका लाने भन्दै आफूसँग १० लाख रुपैयाँ लिएर ल्याएको हामीसँगको संवादमा बताएका छन्,’ राजदूत तुलाधरले भने,‘संख्या यति नै भन्ने अझै प्रस्ट भइसकेको छैन । तर शुक्रबारसम्म बुझ्दा २८ जना नेपाली रहेको सूचना अजरबैजान सरकारबाट आएको छ ।’

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।

‘हामीले नेपालीहरूका बारेमा जानकारी दिने र उनीहरूलाई त्यहाँबाट छुटाएर डकुमेन्ट तयार पारी नेपाल पठाउने गृहकार्य गरिरहेका छौं । अहिले अजरबैजान सरकार र त्यहाँका अन्य संघ संस्थाहरूसँग पनि कुराकानी भइरहेको छ,’ राजदूत तुलाधरले भने,‘आशा छ, नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कनेछन् ।’