बर्षाले किसानलाई राहत, सिँचाइ सुविधा नभएका ठाउँमा रोपाँइ शुरु

बर्षाले किसानलाई राहत, सिँचाइ सुविधा नभएका ठाउँमा रोपाँइ शुरु

बैतडी । मनसुन सक्रिय भएसंगै बर्षा शुरु भएपछि बैतडीका किसान खुसी भएका छन् । सिँचाइ सुविधा नभएका ठाउँमा बर्षा शुरु भएसंगै रोपाँइ शुरु गरिएको किसानहरुले बताएका छन् । बर्षाको पानीले रोपाँइ हुने ठाउँमा रोपाँइ शुरु गरिएको पाटन नगरपालिका ३ का भीमदत्त भट्टले बताए । लामो समयपछि बर्षाले बर्खेबालीलाई फाइदा पुग्नुका साथै रोपाँइका लागि सहज भएको उनले बताए । 

सिँचाइको सुविधा नभएका ठाउँमा किसानहरुलाई धानको बीउ समेत जोगाउ मुस्कील भएका बेला बर्षा शुरु भएपछि सहज भएको भट्टले बताए । उनले भने ‘बर्षा नहुँदा धानको बीउ समेत जोगाउन मुस्किल परेको थियो । अब बर्षा भएपछि सजिलो भएको छ ।सिँचाइ नभएका ठाउँमा रोपाँइ समेत शुरु गरिएको छ ।’

यो बर्षको मनसुन ढिलो गरी प्रवेश गर्दा लगातारको खडेरीले मकै तथा भटमास लगायतका बर्खेबालीमा समेत असर परेको थियो । यो बर्षाले बर्खेबालीमा राहत पुगेको दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान देवदत्त भट्टले बताए । उनले भने ‘बर्षा नहुँदा समस्या भएको थियो । बर्षा भएपछि अब सिँचाइको समेत सुविधा भएको छ ।’

बैतडीमा ९ हजार हेक्टर क्षेत्रफल जमीनमा धानखेती हुने गरेको छ । यो मध्ये आधामात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा बर्षाले रोपाँइ गर्न सहज भएको किसानहरुको भनाइ छ । बैतडीमा जेठदेखि शुरु भएको रोपाँइ असारमा सकिने गरेको छ । 

धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको पाटन, हाट, गोकुलेश्वर, सेरा लगायतका बेँसी क्षेत्रमा लगभग रोपाँइ सकिएको छ ।