रोबर्टले शिक्षामन्त्रीलाई मञ्चमा बोलाएपछि

रोबर्टले शिक्षामन्त्रीलाई मञ्चमा बोलाएपछि

‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले।

अतिथिहरूलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरूको ध्यान पनि मञ्चतर्फ नै मोडियो। कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाकुपटासीमा सजिएकी फूलमाया।

अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन्। जब सबैजना मञ्चमा आइपुगे, त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि। अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन्।

कार्यक्रम थियो, कीर्तिपुरमा सञ्चालनमा आएको विज्ञान संग्रहालयको उद्घाटन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले उक्त संग्रहालय सञ्चालनमा ल्याएको हो।

संग्रहालय उद्घाटनका लागि समितिकै अनुरोधमा पाइला टेक्नोलोजी नामको संस्थाले उक्त रोबर्ट बनाएको हो। कार्यक्रम सञ्चालन गर्ने नेपालमै बनेको यो पहिलो रोबर्ट भएको समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिए।

यो रोबर्ट सधैं संग्रहालय परिसरमै रहने उनले बताए। संग्रहालय अवलोकनमा आउनेलाई स्वागत गर्नेदेखि संग्रहालयमा रहेका उपकरणबारे यो रोबर्टले जानकारी दिनेछ।

यो रोबर्टमा एक पटक नाम ‘इन्ट्री’ गरेपछि हरेक पटक भेट्दा सोही नामले आगन्तुकलाई बोलाउँछ। स्वागत गर्छ। बिजुली चार्ज गरेपछि सञ्चालन हुने यो रोबर्टले एक पटक चार्ज गरेपछि दैनिक आठ घण्टासम्म काम गर्छ। ब्याट्री कम भए आफँै चार्जिङ स्टेसनमा पुग्छ, सहयोगीबिनै।

पाइला टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विनय राउतले निकै मिहिनेत गरी यो रोबर्ट बनाएको सुनाए। यो रोबर्टले अहिले अंग्रेजीमा मात्र कुराकानी गरे पनि केही समयपछि नेपालीमा पनि बोल्न सक्ने बनाउने योजना रहेको राउतले सुनाए।

प्रमुख अतिथिका रूपमा निम्त्याइएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले पनि रोबर्टले दिएको न्यायो आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताए।

‘विज्ञान र प्रविधि क्षेत्रमा नेपालीले गरेको यो ठूलो प्रगति हो’, पोखरेलले कार्यक्रममा भने, ‘नेपालमै पहिलोपटक विज्ञान संग्रहालय खुल्नु आफंैमा सुखद पक्ष हो। त्यसमाथि कार्यक्रम नै सञ्चालन गर्न सक्ने गरी रोबर्ट बनाउने वैज्ञानिक समूहले यसको महत्व झन् बढाइदिनुभएको छ।’

समितिका निमित्त निर्देशक शर्माले संग्रहालय सर्वसाधारणका लागि पनि खुला गरिने बताए। कक्षाकोठामा पढेका विज्ञानसँग सम्बन्धित विषयलाई फिल्ड भिजिट गरी जीवन्त बनाउन यो संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।