बैतडीमा रोपेको ३ बर्षमै फल्यो दाँते ओखर

बैतडीमा रोपेको ३ बर्षमै फल्यो दाँते ओखर

बैतडी  । बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको बगैंचामा रोपेको ३ बर्षमै दाँते ओखर फलेको छ । बगैंचामा करीब ४ सय १६ बिरुवा रोपेकोमा २ सय बढीले फल दिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए । 

बगैंचामा हाटले, पायने, थिङ्सेल जातका दाँते ओखरका बिरुवा रोपिएका खड्काले बताए । कलमी गरेका बिरुवाहरुले रोपेको तीन बर्षमै फल दिएको उनको भनाइ छ । बैतडी ओखर खेतीका लागि प्रशस्त सम्भावना बोकेको जिल्ला भएकाले किसानहरुलाई ओखरखेतीका बारेमा जानकारी दिन समेत बगैंचा निर्माण गरिएको खड्काले बताए । 

सुख्खा फलफूल विकास केन्द्रले लामो समयदेखि नर्सरीमा ओखरका बिरुवा उत्पादन गर्दै आएको छ । नर्सरी कलमी र बिजु गरेर दाँते ओखरका बिरुवा राखिएका सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले जानकारी दिए । 

सुख्खा फलफूल विकास केन्द्रले आफ्नो नर्सरीबाट गत बर्ष २ हजार २ सय कलमी र ३२ हजार बिजु दाँते ओखरका बिरुवा विक्रि वितरण गरेको उनले बताए । 

ओखरको बगैंचामा रहेका बोटबाट कलमी गर्नका लागि साइन समेत लिन सकिने भएकाले बगैंचा स्थापना गरिएको सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ ।