सुदूरपश्चिमको आर्थिक बृद्धिदर घट्यो

सुदूरपश्चिमको आर्थिक बृद्धिदर घट्यो

धनगढी । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका आर्थिक बृद्धिदर ३ प्रतिशतले घटेको छ ।

आर्थिक मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको प्रदेश आर्थिक सर्वेक्षण २०८० का अनुसार यस वर्ष प्रदेशको आर्थिक बृद्धि दर १.७८ प्रतिशत रहने अनुमान छ । सो बृद्धिदर गतआर्थिक वर्षमा ४.७८ प्रतिशत थियो । चालु वर्षको आर्थिक बृद्धिदर चार वर्षयता सबै भन्दा न्युन हो । आर्थिक वर्ष २०७४/७५ मा ६.५ प्रतिशत रहेको आर्थिक बृृद्धिदर ०७६/७७ मा शुन्य दशमलव ७६ प्रतिशत थियो भने ०७७/७८ मा बढेर ४.४ पुगेको थियो । ०७८/७९ मा ४.३३ प्रतिशत आर्थिक बृद्धिदर थियो । 

उपभोक्ता मुल्यमा चालु आर्थिक वर्षमा सबै भन्दा कम आर्थिक बृद्धिदर छ । प्रदेश सभामा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले उपभोक्ता मुल्यमा प्रदेशको आर्थिक बृद्धिदर १.९४ प्रतिशत रहने संशोधित अनुमान रहेको बताए । उपभोक्ता मुल्यमा आर्थिक वर्ष २०७४/७५ मा ६.७३ प्रतिशत रहेको आर्थिक बृृद्धिदर ०७६/७७ मा दुई प्रतिशत थियो । ०७७/७८ मा बृद्धि भई ४.७८ प्रतिशत भएको आर्थिक बृद्धिदर ०७८/७९ मा स्थिर थियो । तर चालुआर्थिक वर्षमा यो २.८४ प्रतिशतले घटेको छ ।
यद्दपि, प्रदेशको कुल ग्राहस्थ उत्पादन स्थिर रहने प्रक्षेपण आर्थिक सर्वेक्षणले गरेको छ । विगत पाँच वर्षदेखि सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पदान ७ प्रतिशत रहँदै आएको छ । आर्थिक वर्ष ०७८/७९ मा ३ खर्ब ४५ अर्ब ५७ करोड कुल ग्राहस्थ उत्पादन भएकोमा चालु आर्थिक वर्षमा ३ खर्ब ७६ अबै ३३ करोड हुने अनुमान सर्वेक्षणले गरेको छ ।
चालु आर्थिक वर्षमा कृषि क्षेत्रको बृद्धिदर १.६७ प्रतिशत र गैरकृषि क्षेत्रको बृद्धिदर २.१३ प्रतिशत रहेने अनुमान गरिएको छ । प्राथमिक क्षेत्रको बृद्धिदर १.६६ र सेवा क्षेत्रको बृद्धिदर ३.२४ प्रतिशतले धनात्मक र तृतीय क्षेत्रको बृद्धिदर शुन्य दशमलव ६४ प्रतिशतले ऋणात्मक रहने अनुमान छ । गतआर्थिक वर्षमा प्राथमिक क्षेत्रको बृद्धिदर २.०६ र सेवा क्षेत्रको बृद्धिदर ५.४६ र तृतीय क्षेत्रको बृद्धिदर ७.३१ प्रतिशत थियो ।

पछिल्लो पाँच वर्षमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय १९४ अमेरिकी डलरले बृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ मा ८६९ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय चालु वर्षमा एक हजार ६३ हुने अनुमान सर्वेक्षणले गरेको छ । प्रदेशको प्रतिव्यक्ति आय ०७६/७७ मा ८८७, ०७७/७८ मा ९७४ र ०७८/ ०७९ मा एक हजार ६० अमेरिकी डलर थियो । राष्ट्रिय प्रतिव्यक्ति आय भन्दा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय झण्डै ३४० अमेरिकी डलर कम रहँदै आएको छ ।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य विजय कुँवरले प्रदेश सरकारले सार्वजनिक वित्तमा पुँजिगत खर्च गर्न नसकेको कारणले आर्थिक बृद्धिदर घट्दै गएको बताए । उनले सरकारले निर्धारण गरेको लक्ष्य अनुसार पुँजिगत बजेट कार्यान्वयन गर्ने क्षमता विकास गर्न नसक्दा प्रदेशको आर्थिक बृद्धिदर ओरालो लागेको बताए । उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा आएको आर्थिक सिथिलताका कारण प्राथमिक क्षेत्र, सेवा क्षेत्र र तृतीय क्षेत्रको बृद्धिदर घटिरहेको बताए । उनले आर्थिक बृद्धिदर घट्दै जानुले प्रदेशको अर्थतन्त्र कमजोर स्थितिमा पुगेको संकेत गरेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले संशोधित विनियोजन २७ अर्ब ९६ करोड ७८ लाख ९३ हजारको ७६.११ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको छ । जसमा पुँजिगत बजेट ७१.६१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षणका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष ०७४/७५ देखि चालु आर्थिक वर्षको फागुनसम्म पुँजिगत खर्च क्रमशः १७.३५, ४५.६८, ५३.७०, ५३.५२, ५९.६७ र ६६.३७ प्रतिशत गरेको छ ।