बैतडीमा सिँचाइ कुलो भत्किएपछि खेत बाँझै

बैतडीमा सिँचाइ कुलो भत्किएपछि खेत बाँझै

बैतडी । महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडीबाट करिडोर खन्दा कुलो पुरिएपछि  किसानको खेत बाँझै रहेको हो ।

सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मङ्गोलाले बताए । अहिले डिम्मर र मटयानीका किसानहरुको  खेत बाँझै रहेको  बताइएको  छ । 

यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मङ्गोलाले बताए । वडा अध्यक्ष बिर बहादुर  चन्दले  पनि करिडोरले  सिँचाइ कुलो  भत्किएपछि किसानहरुका खेत बाँझै  रहेका बताए ।

कुलो निर्माणका लागि सिँचाई डिभिजन कार्यालय  पाटनबाट  योजना परेको  भएपनि करिडोरमा काम भैरहेकाले  बनाउन नसकिएको  वडा अध्यक्ष चन्दले  बताए । सो क्षेत्रमा काम सकिएपछि सिँचाई  कुलो  निर्माण गरिने  उनले  बताए ।

नेपाल, भारत र चिनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई  जोड्ने  छ।