सामाजिक विकास मन्त्रालयको औषधी खरीदको टेण्डर दोस्रोपटक ६५ लाख घटीमा स्वीकृत हुँदै

सामाजिक विकास मन्त्रालयको औषधी खरीदको टेण्डर दोस्रोपटक ६५ लाख घटीमा स्वीकृत हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले महङ्गो मुल्यमा टेण्डर हाल्नेलाई आपुर्तिको जिम्मेवारी दिन लागिएको भन्दै उजुरी परेपछि पहिलोटक स्थगित गरेको बालबबालिका तथा नवजात शिशुमा देखिने रोगको एकिकृत ब्यवस्थापन (आई एम एन सि आई) सम्बन्धी टेण्डर दोस्रो पटक पुरानै आपुर्तिकर्ताले ६५ लाख सस्तो दरमा टेण्डर भरेको खुलासा भएको छ । 

पहिलोपटक सस्तो दरमा आपुर्ति गर्ने भन्दै टेण्डर हालेको तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई आपुर्तिको जिम्मेवारी नदिइएपछि उसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र सामाजिक विकास मन्त्रालय दुबैमा उजुरी हालेको थियो ।

उसको उजुरीपछि स्थगित भएको टेण्डर पुनः आह्वान हुँदा पहिलोपल्ट महङ्गोमा टेण्डर भरेर पनि आपुर्तिको जिम्मेवारी पाएको ड्रग सेन्टर धनगढीले पहिलेको भन्दा ६५ लाख घटिमा टेण्डर हालेको खुलासा भएको हो । पहिलोपल्ट भ्याट बाहेक एक करोड १७ लाखमा टेण्डर हालेको ड्रग सेन्टरले दोस्रो पटक ५२ लाख मात्रै हालेको छ ।

५२ लाखमा आुपर्ति गर्न सकिने औषधीहरु पहिलो पटक महङ्गो मुल्यमा दिन खोजिनु शंकास्पद रहेको टेण्डरमा सहभागी भएका अन्य ब्यवसायीहरुले बताएका छन् । 

दोस्रो पटकको टेण्डर हाल मुल्यांकनकै प्रक्रियामा रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको खरीद समितिका एक जना सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सस्तोमा हालेका कारण टेण्डर ड्रग सेन्टरले नै पाउने स्थिति रहेको बताउनुभयो ।

मन्त्रालय स्रोतका अनुसार धनगढी स्थित डि.बी. मेडिसिन सेन्टर, ड्रग सेन्टर र यी दुबै आपुर्तिकर्तासित जोडिएका ब्यवसायीलाई मात्रै पार्ने नियतले खरीद समितिले पहिले नै गलत तरिकाले मापदण्ड बनाएको थियो । औषधी खरीद सम्बन्धी मापदण्ड बनाउँदा नेपाल सरकारका बायो मेडिकल इन्जिनियर हरेन्द्र चटौत सुदूरपश्चिम प्रदेशका लागि काम गर्ने गरी खटिएको भएपनि शुरुमा चटौतलाई मुल्यांकन समितिमा राखिएको थिएन ।

सरकारी अधिकारी हुँदाहुँदै निजी क्षेत्रका बायो मेडिकल इन्जिनियर राखेर मापदण्ड बनाउन लगाउनु नै शंकास्पद हो –मन्त्रालयका एकजना अधिकारीले भन्नुभयो । मन्त्रालयले प्राविधिक मुल्यांकनका लागि बायो मेडिकल इन्जिनियर बिजय बिष्टलाई परामर्शदाता नियुक्त गरेको थियो । पछि ब्यवसायीले बिरोध गरेपछि मात्रै सरकारी इन्जिनियर चटौतलाई पनि राखिएको थियो । 

डिबी मेडिसिन सेन्टर तथा ड्रग सेन्टर छुट्टाछुट्टै ब्यवसायिक प्रतिष्ठान जस्ता देखिएपनि यी दुबैको ब्यवस्थापन अमित मेडिसिन डिस्ट्रिब्युटर्सका प्रोपराइरटर दुश्यन्त बस्नेत हेर्छन ।