एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । 

सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताए ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा। शर्माका अनुसार यसवर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी छ ।

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ ।