आईसीसी एकदिवसीय विश्वकप: नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दै

आईसीसी एकदिवसीय विश्वकप: नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट सुपर सिक्समा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दैछन् । खेल जिम्बावेको बुलवायोमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। 

नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको यो खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । आजको खेल जितेमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ भने नेदरल्यान्ड्सलाई फराकिलो जित आवश्यक छ ।

आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागिता पक्का भएको छ । छनोटमा चारमध्ये तीन टेस्ट टोली बाहिरिएपछि एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एउटा पुग्ने पक्का भएको हो ।

श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको छ । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न असफल भएका छन् । विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहेर बाहिरिएको छ । नवौँ स्थानका लागि आज यूएई र अमेरिका खेल्दैछन् ।