वैकल्पिक सडकका लागि पर्याप्त बजेट

वैकल्पिक सडकका लागि पर्याप्त बजेट

डडेलधुरा । वैकल्पिक सहायक राजमार्ग विकास कायक्रम अन्तर्गत डडेलधुरा जिल्लाको सहायक सडक निर्माणका लागि नयाँ आर्थिक वर्ष २०८०/८१ मा देशभरमै बढी बजेट छुट्याइएको छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि पाँच अर्ब २० करोड ५७ लाख रुपियाँ बजेट छुट्याइएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार, सो रकममध्ये एक अर्ब १० करोड रुपियाँ डडेलधुरा जिल्लाका सडक निर्माणका लागि छुट्याइएको छ । सो रकम देशभरमै सबैभन्दा बढी हुन आउँछ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेलधुराका आठ वटा आयोजना छनोटमा परेका छन् । एउटै योजनामा १० करोडदेखि ३० करोड रुपियाँसम्म बजेट छुट्याइएको छ । 

वैकल्पिक सडक निर्माण स्तरोन्नतिले डडेलधुरालाई तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसँग जोड्ने छ । जसले स्थानीयलाई आवत जावत गर्न निकै सहज हुने छ । कञ्चनपुरलाई डडेलधुरा जिल्ला सदरमुकामसँग जोड्न दैजी–लिप्ना–जोगबुडा सडकका लागि ३० करोड रुपियाँ छुट्याइएको छ । 

सदरमुकाम बागबजारदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसम्मको दूरी झन्डै आधा कम हुने बताइएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि डडेलधुरा सदरमुकामसम्म भीमदत्त राजमार्ग मात्रै छ । निर्माणाधीन अवस्थामा रहेको वैकल्पिक सडकको विभिन्न खण्ड स्तरोन्नति र कालोपत्रे भइरहेको छ । 

यो सडक भात्काडा–बडाल–रेल सडक डडेलधुराका लागि १५ करोड रुपियाँ र जोगबुडा सिर्स रुप्कलाल सडकका लागि १० करोड रुपियाँ छुट्याएको पाइएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको कञ्चनपुर बेदकोट नगरपालिका दैजीदेखि सुरु भएर चुरे पर्वत, जोगबुडा, महाभारत पर्वतको गोगन, निङ्लाडी, चिर्किट्टे, डोटीघटाल हुँदै जिल्ला सदरमुकामसँग जोडिने छ । 

दैजीदेखि बागबजारसम्मको दुरी करिब ७० किलोमिटरको मात्रै हुने छ । अझै यो सडक जिल्ला सदरमुकाम बगबजार–पोखरा–बेलापुर–ढुङ्गाड हुँदै बझाङको देउराबाट मानसरोवरसम्मै पु(याउने लक्ष्य लिइएको भौतिक पूर्वाधार कार्यालय डडेलधुराका कार्यालय प्रमुख नवराज रावलले बताए । 

भत्काँडा–बडाल–रेल सडकका लागि १५ करोड रुपियाँ छुट्याइएको छ । यो सडकले तत्कालीन पश्या गर्खा हालको गन्यापधुरा गाउँपालिकाको मध्यभेगलाई डोटीको शिखर नगरपालिकासम्म जोड्ने छ । गन्यापधुरा गाउँपालिका–१, रुवाखोला नेपाली कांग्रेसका सभापति एवै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल भएकाले निकै चर्चा बटुल्ने गरेको छ ।

पाँच पटक प्रधानमन्त्री हुँदासम्म पनि यो सडक निर्माण हुन नसकेको भन्दै चर्को आलोचना समेत हुने गरेको छ । यो सडकले महाभारत पर्वतको मध्यभाग भएर गन्यापधुरा गाउँपालिकाका अधिकांश गाउँलाई जोड्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए । यसै गरी जोगबुडा–शिर्ष–रुपाल सडकका लागि १० करोड रुपियाँ छुट्याएको छ । डडेलधुराको पश्चिमी भाग महाकाली किनार, चुरे र महाभारत पर्वत क्षेत्रका बस्ती परशुराम नगरपालिका र भागेश्वर गाउँपालिकालाई बैतडी जिल्लासँग जोड्ने छ । 

पश्चिमी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम भएर तराईलगायत देशका अन्य जिल्ला आउजाउ गर्ने बाध्यतालाई यस सडकको निर्माणले अन्त्य गर्ने नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्य समिति सचिव एवं भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए ।