संशोधन विनै बजेट पारित गराउने तयारीमा प्रदेश सरकार

संशोधन विनै बजेट पारित गराउने तयारीमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमा तीव्र असन्तुष्ट कोही छ भने सत्तासाझेदार दलहरु छन् । उनीहरुले बजेट संशोधन नभए पास नै हुन नदिने अडान लिएका छन् ।

संसद्मा होस् या सार्वजनीक मञ्च तथा केन्द्रमै पुगेर सत्तापक्ष दलहरुले बजेटमाथिको असन्तुष्टि दोह¥याइरहेका छन् । पछिल्लो दिनमा सदनमै उनीहरुले बजेट पास हुन नदिने स्पष्ट पारेका छन् । सत्तापक्ष दल नेपाली काँग्रेसमात्र नभई सत्तासाझेदारी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दल र नागरिक उन्मुक्ति पार्टीले बजेटमाथिको छलफलमा भाग लिदै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

नेपाली काँग्रेस नेतृत्वमा रहेको मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीको क्षेत्रमा बढी बजेट विनियोजन भएकोमा सत्तापक्ष र प्रतिपक्षि दलहरु असन्तुष्ट बनेका छन् ।

यस्तै आरोपसहित सत्ताघटक दलबाटै बजेट पारित हुन नदिने कुरा सार्वजनीक भए पनि सरकार त्यसमा शंसोधन नगरी बजेट पारित गर्ने तयारीमा रहेको छ । बजेटमा असन्तुष्टि रहे पनि बिनासंशोधन पास गरिने परम्परा रहेकोले यसमा संशोधन नहुने स्वयं आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले जानकारी दिए । उनले भने –‘बजेट पारित हुन्छ । संशोधन हुँदैन । विरोध हुनु स्वभाविक हो । सभामा सुझाव आउनु उचित हो । त्यसले भोली हामी सच्चिनतर्फ सुझाव पाइन्छ ।’ 

मन्त्री शाहीले बजेटमाथिको छलफलमै केही प्रदेश सभा सदस्यहरुका योजना समेट्न नसकिएको बताए । ‘सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन,’ मन्त्री शाहीको भनाई छ ।

नेकपा माओवादीका प्रदेश सभा सदस्य शिवसिंह ओलीले तराइका जिल्लामा बढी बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गरे । उनले भने –‘तराइका जिल्लामै विकास चाहिने हो भने भोली पहाडी जिल्लाका मानिस बसाई सरेर तराइमा आउँदा जिम्मा कस्ले लग्ने हो ।’

उनले सत्तापक्षका माननिय ज्युहरु बोल्दा खेरी नमिठो अमिलने भएर बोल्नुपर्ने बाँध्यता जस्तो परिस्थिती सृजना भएको बताए ।

‘एउटा सत्तापक्षको सांसदको हैसियतले बोल्दा खेरी हामीलाई दुःख लागेको छ । अरु जिल्लाले के गरे थाहा भएन तर स्थानीय तह र प्रदेश सरकार बसेर डोटी जिल्ला समन्वयको अध्यक्षतामा हामीले बैठक सम्पन्न गर्यौं । जिल्लाका योजनाहरु जम्मा जम्मी ५४ थियो’ उनले भने ‘योजनाहरु झारेर प्रदेश सरकारलाई पेस गर्यो । अहिले ती योजनाहरुको भारी बोकेर जाने प्रतिबद्धता गरे । माननीय मुख्यमन्त्री ज्युलाई पनि भेटे सबै मन्त्रीज्युलाई भेटे हाम्रा ब्यक्तिगत योजनाहरु केही छैनन् । निर्वाचन क्षेत्रमा उद्योग खोल्ने भनेको छ तर बजेट अपुरो छ । सबै कुराहरुलाई तराई केन्द्रित गर्यो भने हाम्रा पहाडका जनताहरुले सुबिधा नपाएपछि आउने कता ?  मात्र बाहानाको लागि खोला भएको देखिएको छ ।’

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले बजेटमाथिको छलफलमा भाग लिदै बजेटमाथिको विपक्षमा बोल्न बाँध्य पारिएको बताउँदै बजेट पारित नहुने बताए । ‘प्रदेशको समग्र विकासका लागि बजेटले दिर्घकालिन योजना ल्याउनुपर्ने हो । तर, बजेट केही व्यक्तिको योजनालाई ध्यानमा राखेर ल्याइएको छ । नीति तथा कार्यक्रम राम्रो थियो हामीले राम्रो मानेर पारित गरेका थियौ तर, बजेट नीति तथा कार्यक्रमविपरित रहेको छ ।’

नेपाली काँगेसकै मानबहादुर रावलले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आफनै सरकारले ल्याएको बजेटमा लज्जा लागेको बताए । उनले भने –‘मलाई त लज्जा लाग्छ । म यहि गाउँ यहि ठाउँको मानिस हुँ । ३२ वर्ष आफनो जिल्लाको सेवा गरे तर, बजेटका विषयमा म कसैसंग जवाफ दिँदैन पत्रकारसंग पनि प्रतिक्रिया दिएको छैन । योजनाहरु सबै ठाउँमा गए तर, कस्ता गए भन्नेमा ध्यान नदिने हो । बनिसकेका योजनामै बजेट गयो । त्यसमा ध्यान नदिने हो ।’

नेकपा एमालेकी निर्मलादेवी साउँदले प्रदेश सभा सदस्यहरु असन्तुष्ट भएपनि सत्तापक्षका साँसदले बजेट पारित गराउने मनसायमा रहेको जिकिर गरिन । उनले भनिन् –‘यो बजेट स्थानिय तहको सरकारभन्दा कमजोर बजेट आएको छ । स्थानीय तहले वडा अध्यक्ष र सदस्यलाई सोधेर योजना बनाउँछ तर, प्रदेश सरकारले प्रदेश सभा सदस्यलाई खेलाउन बनाउन खोजेको हो । आफनो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्ने ? निर्वाचन क्षेत्रमा पनि क्ुन टोल, वडा, बस्ती नहेरेर बजेट हाल्ने ।’ 

उनले मुख्यमन्त्री र मन्त्रीले मिठा भाषण मात्र गरेको बताइन् । उनले भनिन –‘मन्त्रीज्युहरुका मुख कालो भएका छन् । तपाईहरुले सुझाव सल्लाह लिएको भए यस्तो अवस्था आउँथेन । प्रदेश सभा सदस्यहरु तालिमात्र पिट्न आएका हैनन । सदनमा भत्तामात्र खान आएका होइनौं । जनताको सेवा गर्न आएको हो । मन्त्रीमण्डलले जे गरेपनि हुन्छ भन्ने लाग्छ भने प्रदेश सभा सदस्यहरु किन चाहियो ।’

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले अहिलेको सरकार बजेटमा अल्पमतमा परेको बताए । ‘मुख्यमन्त्री संग साँचै बिश्वासको मत छ त । यो कुरा सभामुख मार्फत जानकारी गराउँछु । जहाँ सम्म बजेटको कुरा छ । छलफलमा धेरै कुराहरु आए । सरकारले धेरै जोरले हल्ला गर्यो । 

त्यतीबेलामा पनि यो सदनमा भनेको थिए । कि हामी स्थानिय तहबाट आएका बजेटहरुलाई प्राथमिकता चाहिँ दिन्छौं भनेर धेरै जोरले भन्नुभयो’ उनले भने ‘तर, २५ लाख भन्दा मुनिका योजना हामी ल्याउँदनौं । त्यो माथीका योजना हामी प्राथमिकताका आधारमा ल्याउँछौ भन्नुभयो । प्रदेश सभाका सदस्हरुलाई ‘लेटर प्याड’मा चिठी लेखाएर माग्नुभयो । के हुन त तपाईका निर्वाचन क्षेत्रका योजनाहरु प्राथमिकताहरु के हुन ? भनेर लेखन लगाउँने । के साँचै त्यही ढंगबाट आयो त ? महालेखाले पटक–पटक यो चाही ठिक छैन है । यो नीतिगत रुपमा ठिक छैन है । यस्तो गर्नु हुँदैन है भन्ने कुरा औल्याएको पनि छ । तर हामी के गरिरहेका छौं ।’

उनले बजेटले प्राथमिकताभन्दा बाहिर गएर आएको बताए । ‘प्राथमिकता भएको ठाउँमा हामीले बजेट दिईरहेका छैनौं । बजेट बितरणको तपाईको जुन कुरा छ । हिजो हामीले काठमाण्डौंलाई सेन्टर मानेर काम भयो । संघियतापछि नजिकको सरकारले पनि उचित ढंगले काम नगरेको हाम्रो भनाई छ’ उनले भने ।