बर्षा र हावाहुरीले बैतडीमा क्षति

बर्षा र हावाहुरीले बैतडीमा क्षति

बैतडी । बैतडीमा बर्षा तथा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । बिहीबार पानीसंगै आएको हावाहुरीले सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको सुर्नया ६ का स्थानीय गणेशदत्त अवस्थीले बताए । 

घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेर नष्ट भएका उनले बताए । सुर्नया गाउँपालिका वडा नं ६ को खर्काधार, तिमुनी, मौरभटुन्या, चौभके लगायतका स्थानमा हावाहुरीले मकैबालीमा बढी क्षति पुर्याएको उनले बताए । 

यस्तै जिल्लाका अन्य ठाउँहरुमा समेत हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । हावाहुरीले मकैबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हरेक बर्ष क्षति हुन थालेपछि किसानहरु चिन्तित बनेका हुन् । 

हावाहुरी र बर्षाको प्रभावका साथै वन्यजन्तुले समेत मकैबालीमा व्यापक क्षति पुर्याउने गरेको स्थानीय भानुभक्त अवस्थीले बताए । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति हुन थालेपछि किसानहरु पेशाप्रति नै रुष्ट भएका उनको भनाइ छ । 

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।