च्याटजीपीटीमाथि अनुसन्धान गर्दै अमेरिका

च्याटजीपीटीमाथि अनुसन्धान गर्दै अमेरिका

काठमाडौं । गलत सूचना दिएको भन्दै अमेरिकी सरकारले च्याटजीपीटीको मातृकम्पनी ओपनएआईमाथि अनुसन्धान गर्ने भएको छ । अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले च्याटजीपीटीले जेनेरेट गर्ने गलत सूचनाको जोखिमको अध्ययन गर्ने भएको हो ।

एफटीसीले ओपनएआईलाई पत्र पठाउँदै अनुसन्धानको लागि सहयोग गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टम्यानले अमेरिकी सरकारको यो अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

च्याटजीपीटीले क्षणभरमै मानिसले इन्टरनेटमा खोज्न चाहेको कुरा सहज तरिकाले उपलब्ध गराइदिन्छ । यो प्रविधिले भोलिको दिनमा अनलाइन सर्चको ट्रेन्डलाई नै परिवर्तन गरिदिने अपेक्षा गरिएको छ ।

च्याटजीपीटीको सुरुवातसँगै अन्य प्रतिस्पर्धी कम्पनीहरूले पनि आफ्नै एआई च्याटबट सार्वजनिक गरेका छन् र यो क्रम जारी छ । यसको प्रयोगसँगै यसले निम्त्याउन सक्ने जोखिम, यस्ता च्याटबटले दिने सूचनाको शुद्धता लगायतका विषयमा बहस उठेको छ ।

एफटीसीको पत्रमा ओपनएआईलाई अनुसन्धानका लागि विभिन्न प्रश्नहरू सोधिएको छ । जसमध्ये एउटा प्रश्न ओपनएआईले गलत, भ्रामक, अपमानजनक वा हानिकारक प्रतिक्रिया रोक्नको लागि कस्तो कदम चालिरहेको छ भन्ने रहेको छ ।

साथै एफटीसीले डेटाको सुरक्षालाई ओपनएआईले चालेका कदमहरूको विषयमा पनि सोधेको छ । एफटीसीको यो अनुसन्धानले च्याटजीपीटीको सुधारका लागि सहयोग पुग्ने अल्टम्यानले प्रतिक्रिया दिएका छन् । टेकपाना