धरानमा डेंगुबाट तीन महिनामा छ जनाको मृत्यु

धरानमा डेंगुबाट तीन महिनामा छ जनाको मृत्यु

धरान । सुनसरीको धरान उपमहानरपालिकामा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट धरानमा ३  महिला र ३ पुरुष गरी छ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।

सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् ।  समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ । 

डेंगु संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् । आइतबार राति धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको निधन भएको छ । दुबैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको स्वास्थय महाशाखा प्रमुख मेहताले बताए । 

यस अगाडी जेठ ३० गते धरान १७,असार १५ गते धरान ११ साउन २ गते धरान १८ का एकरएक जना महिलाको डेंगुकै कारण मृत्यु भएको थियो । साउन २ गते धरान ११ का अर्का एक पुरुषको डेंगुकै कारण निधन भएको मेहताले बताए।

धरान उपमहानगरपालिकामा ५ हजार बढि सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढि रहेको छ । डेंगु संक्रमित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलमा उपचार गराइरहेका छन् । बीपी प्रतिष्ठानले यस अगाडि कोभिड अस्पताल सञ्‍चालन गरेको स्थानमा डेंगुको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा।डा प्रल्हाद कार्कीले बताए ।