सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता प्रस्तुत

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता प्रस्तुत

धनगढी : प्रदेश सरकारले बिहीबार  प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेको छ । 

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षको बजेटका प्राथमिकतासहितको दस्तावेज बिहीबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । दस्तावेज प्रस्तुत गर्दै मन्त्री बोहराले आगामी आर्थिक बर्षको बिनियोजन विधेयक नेपालको संविधानमा उल्लेखित मौलक हकको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा निर्देशित रहने बताउनुभयो ।

बजेटका सिद्धान्तमा प्रदेशमा सवल र सक्षम अर्थतन्त्रको आधारशिला गर्न संविधानले ब्यवस्था गरेका राज्यका निर्देशक सिद्धान्त तथ नीतिहरुको परिपालना गरिने उल्लेख छ । मन्त्री बोहराले खुला, स्वस्थ र प्रतिस्पर्धी बजार अर्थतन्त्रको सुदृढीकरणबाट उत्पादन, उत्पादकत्व, उद्यमशीलता र प्रविधिलाई प्रोत्साहन गर्दै स्वतन्त्र समृद्ध, र सल अर्थतन्त्र निमार्ण गरिने बताउनुभयो । 

प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको निमार्ण गर्ने,  कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्ने, दगो आर्थिक बृद्धि गर्ने र पिछडिएको बर्गलाई सामाजिक न्यायसहितको सुरक्षा प्रदान गर्ने लक्ष्य निर्धारण गरेको छ । प्रदेशका नागरिकलाई स्वआर्जन तर्फ उन्मुख गराई बेरोजगारी अन्त्य गर्ने उद्देश्य समेत बजेटले लिएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताउनुभयो । 

गरिबीबाट आक्रान्त नागरिकलाई तत्काल राहत पुग्नेगरी गरिबी न्यूनिकरण लक्षित कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ । स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारी तथा स्वरोजगारी मार्फत आयआर्जन बृद्धि गर्ने, यातायात, सञ्चार, खानेपानी, विद्युतीकरण, लगायतका आधारभूत विकासको पहुाच प्रदेश भरी पु¥याउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको मन्त्री बोहराले सभामा जानकारी दिनुभयो । 

शिक्षा, स्वास्थ्य तथा मानव विकास सूचकांकमा समेत पछि परेका बाजुरा, बझाङ। अछाम र दार्चुलामा जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरिने समेत मन्त्री बोहराले बताउनुभयो । 

पूर्व बजेट छलफलका लागि मन्त्री बोहराले प्रदेश सभामा प्रस्तुत गर्नभएको बजेटका सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिहरुले आगामी आर्थिक बर्षको बजेट प्रारम्भिक रुप सार्वजनिक गरेको छ । मन्त्री बोहराले प्रस्तुत गरेको दस्तावेजमा प्राथमिकताहरुको आधारमा नै प्रमुख नीतिहरु रहने उल्लेख गरिएको छ । 

प्रदेश सभामा पूर्व बजेट छलफल जेठ ६ गतेदेखि शुरु हुने सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभालाई जानकारी दिनुभएको छ ।