प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। अहिले दुई नेताबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्‌को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भइरहेको छ। यस्तै, प्रतिनिधि सभा बैठक सञ्चालन, १ क्विन्टल सुन तस्करी प्रकरणमा भइरहेको छानबिन लगायत विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। प्रचण्ड र ओलीको भेटवार्तापछि ३ दल (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का शीर्ष नेताहरुबीच बालुवाटारमा नै छलफल भएको थियो। 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको १ क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गते संसद्‌ बैठकमा अवरोध गरेको थियो।