पशुपतिनाथ मन्दिरमा  नयाँ भट्ट नियुक्त

पशुपतिनाथ मन्दिरमा  नयाँ भट्ट नियुक्त

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा बुधबारदेखि नयाँ भट्ट (पुजारी) नियुक्त भएका छन्। भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वषीएय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्। उनले बुधबारदेखि नै मूल भट्टबाट पाशुपत दीक्षा पाएका छन्।  

अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन्। उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्। पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

६५ वर्षीय रामाकारन्त पनि आन्द्र प्रदेश कर्णाटककै हुन्। रामकारन्तले दिएको राजीनामालाई विकास कोषले २०७९ फागुनमा स्वीकृत गरेको थियो। रामाकारन्तको राजीनामालाई विकास कोषले स्वीकृत गरिसकेपछि त्यसमा सहमतिको लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको, प्रधानमन्त्री कार्यालयलेसमेत स्वीकृत जनाएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न मूल भट्टको संयोजकत्वमा ५ सदस्यीय विद्धत् समिति गठन गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए।