अवैध संरचना हटाउन जब मेयर डोजरसहित पुगेपछि...

अवैध संरचना हटाउन जब मेयर डोजरसहित पुगेपछि...

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारको ढल व्यवस्थापनको काम सुरु गरेको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा आफै डोजर लगेर उक्त क्षेत्रमा पुगेका थिए।

उनको नेतृत्वको टोलीले ढल व्यवस्थापनको सुरुवात गरेको हो। नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो।

‘अहिले दुबैतर्फ अस्थायी नाली निर्माण गरिरहेका छौं, सडक क्षेत्रमा पर्ने संरचना पनि हटाइरहेका छौं,’ नगर प्रमुख महराले भने, ‘दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ।’ 

आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालासँग ढल व्यवस्थापनबारे छलफल भएको थियो। सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरिएको थियो। 

सडक र पूर्वाधार विकास कार्यालयले चासो नदेखाएपछि तत्कालको समस्या समाधानका लागि नगरपालिकाले अस्थायी नाली निर्माण गरिरहेको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना जोशी पन्त, वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ८ का अध्यक्ष बहादुर सिंह महरा, वडा नं. ९ का रमेशबहादुर ऐर, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्ट, इन्जिनियर दिपक धामीलगायतको टोली जेसिबीसहित कलुवापुर बजारमा पुगेको थियो।

स्थानीयको सहमतिमै नगरपालिकाले नाली निर्माण र सडक क्षेत्रमा पर्ने संरचना हटाइरहेको छ।