सुदूरपश्चिम प्रदेशमा नेफटाको प्रादेशिक सम्मेलन

सुदूरपश्चिम प्रदेशमा नेफटाको प्रादेशिक सम्मेलन

धनगढी । नेपाल फरेष्ट टेक्निसियन एशोसियसन सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरिय प्रथम सम्मेलन बिहिबार धनगढीमा भएको छ । 

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशबहादुर धामीको प्रमुख आतिथ्यमा एशोसियसनको प्रथम अधिवेशन भएको हो ।

सो अवसरमा बोल्दै मन्त्री धामीले कर्मचारीलाई इमान्दार भएर काम गर्न निर्देशन दिएका थिए । साथै उनले वनका कर्मचारीले काम गर्दा भोग्नुपरेका समस्याहरुको समाधानका लागि आफुहरु लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘कर्मचारीहरुको आवासको व्यवस्था, लत्ता कपडा लगायत अन्य समस्याको समाधानका लागि मन्त्रालय लागिरहेको छ । तर, तपाईहरु पनि पाएका जिम्मेवारी इमान्दार भएर निर्वाह गर्नुहोस् ।’

मन्त्रालयकी राज्यमन्त्री गितादेवी मालले आवश्यकताअनुसार सरकारले नयाँ नीति, नियमहरु निर्माण गर्नमा कटिवद्ध भएर लाग्ने बताइन् ।

मन्त्रालयका सचिव वेदकुमार ढकालले हरेक समस्या समाधान आफनै तर्फबाट सुधार गरेर हुने बताए । उनले स्रोतको व्यवस्थापनमा प्राविधिक समस्या नभई कर्मचारीका केही कमीकमजोरी र सोचका कारण समस्या भइरहेको बताए ।

वन अधिकृत पुर्णशंकर यादवको अध्यक्षतामा भएको सम्मेलनमा प्रदेशका १० वटै डिभिजन वन कार्यालय, वनका अन्य निकायमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । सो सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने छ ।