बैतडीका शिक्षक महासंघको धर्ना

बैतडीका शिक्षक महासंघको धर्ना

बैतडी । संघीय शिक्षा ऐनमा रहेका केही प्रावधानहरु सच्याउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको शिक्षक महासंघले बैतडीका पालिकाहरुमा पनि धर्ना दिएको छ । महासंघको केन्द्रीय कार्यक्रम अनुसार आइतबार सबै स्थानीय तहमा धर्नासहित ज्ञापन पत्र बुझाइएको नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि सहदेव भट्टले बताए । 

महासंघको केन्द्रीय कार्यक्रम अनुसार पालिकाहरुका केन्द्रमा दुईघण्टा धर्नासहित ज्ञापन पत्र बुझाइएको उनले बताए ।जिल्लाको दशरथचन्द नगरपालिकामा महासंघमा आवद्ध संघसंगठनका पदाधिकारीको सहभागितामा धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको भट्टले बताए । 

यस्तै पाटन नगरपालिकामा पनि महासंघमा आवद्ध संघसंगठनहरुको सहभागितामा धर्ना दिँदै ज्ञापन पत्र बुझाइको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव धनबहादुर महराले बताए । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा एकीकृत नेपाल शिक्षक संगठनका उपमहासचिव दलबहादुर कार्कीको उपस्थितीमा धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको बताइएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।