तीन जनालाई छुरी हान्ने एक जना पक्राउ

तीन जनालाई छुरी हान्ने एक जना पक्राउ

तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरी हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा आइबार दिउँसो ज्यान मार्ने उद्देश्यले तीन जनालाई धारिलो हतियार प्रहार गरेको हो । 

हतियार प्रहार गरेको आशङ्कामा फेदाप गाउँपालिका–३ का ४६ वर्षीय मुकेश लिम्बुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छेपिञ्जो भोटेले जानकारी दिए। 

छुरी प्रहारबाट घाइते हुनेमा स्थानीय ४१ वर्षीय तेजबहादुर लिम्बु, उहाँका ३ वर्षीय छोरा आयुष लिम्बु र ४३ वर्षीय तिल विक्रम लिम्बु रहनुभएको छ । छुरी प्रहारबाट तेजबहादुर र तिलविक्रमको हातमा चोट लागेको छ भने तेजबहादुर लिम्बुका छोरा आयुषको टाउकोमा गहिरो चोट लागेको छ । 

घाइतेहरूलाई उपचारका लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । घाइतेमध्ये नाबालक आयुषको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक भोटेले बताए।