टीकापुरको वीरेन्द्र विद्या मन्दिरले पायो 'क्यूएए'

टीकापुरको वीरेन्द्र विद्या मन्दिरले पायो 'क्यूएए'

टीकापुर। टीकापुरको वीरेन्द्र विद्या मन्दिरलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)प्रमाणीकरण सर्टिफिकेट दिएको छ।

सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा आयोगले वीरेन्द्र विद्या मन्दिर क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण सर्टिफिकेट प्रदान गरेको हो। वीरेन्द्र विद्या मन्दिर क्याम्पस कैलालीका प्रिन्सिपल हर्कबहादुर भण्डारीको टोलीलाई पनि सर्टिफिकेट प्रदान गरिएको छ।

यस्तै, बिश्वविद्यालय अनुदान आयोगले कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौंलाई पनि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणीकरण सर्टिफिकेट दिएको छ। देशभरका कलेजमध्ये आयोगको मूल्यांकन समितिले केही दिनअघि कोटेश्वर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पसलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो।

समारोहमा आयोगका अध्यक्ष प्रा. देवराज अधिकारी, मूल्यांकन समितिका प्रमुख प्रा. तीर्थ खनियाँ, प्रा.डा.बासुदेव काफ्ले र त्रिविका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालसहितको टोलीले कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल, संस्थापक महेन्द्रबहादुर पाण्डे र प्रिन्सिपल गोविन्दबहादुर कार्कीसहितको कोटेश्वर क्याम्पस व्यवस्थापनलाई क्यूएए सर्टिफिकेट प्रदान गरेको हो।

गुणस्तर राम्रो भएका, विद्यार्थी संख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएका मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण गर्ने गरेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँले क्यूएए प्राप्त गरेका दुवै कलेजलाई धन्यवाद दिँदै क्यूएए विश्वविद्यालय अनुदान आयोगको मातहतमा रहनुभन्दा यसको छुट्टै अस्तित्व कायम गरेर अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताए।