वडाध्यक्ष कुट्ने दुई केन्द्रीय सदस्यसहित चारजनालाई युवा संघले गर्‍यो कारबाही

वडाध्यक्ष कुट्ने दुई केन्द्रीय सदस्यसहित चारजनालाई युवा संघले गर्‍यो कारबाही

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ।

गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरित काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको जनाइएको छ । 
 
अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यानमार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

घटनाका विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो।

११.jpg'_'.2023-08-18.jpg