एक दर्जन राजदूत नियुक्ति, को–को बन्दै नयाँ राजदूत ?

एक दर्जन राजदूत नियुक्ति, को–को बन्दै नयाँ राजदूत ?

काठमाडौं। सरकारले एक दर्जन देशका लागि नयाँ राजदूत नियुक्तिको अन्तिम तयार गरेको छ । यस्तै आधा दर्जन बढी देशका राजदूतलाई फिर्ता बोलाउने पनि सरकारको तयारी रहेको छ ।

सरकारले भारत र मलेसियाका लागि राजदूत सिफारिसको नयाँ निर्णय गर्ने भएको छ । यसअघि भारतका लागि राजदूत सिफारिस भएका नीलकण्ठ उप्रेतीको सन्दर्भमा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय निस्क्रिय छ । बिमस्टेक बैठक सम्मेलन सकिना साथ संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सरकारले भारत, राष्ट्रसंघीय महासभा, मलेसिया र युएईमा नयाँ राजदूत नियुक्तिको तयारी गरिरहेको छ भने कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनाएको छ । यस्तै क्यानडा, फ्रान्स, थाइल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतहरु भने कार्यकाल समाप्त भएर घर फर्कने दिन नजिकिएको छ ।

को–को बन्दैछन् राजदूत ?
राष्ट्रसंघको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन खोजिए पनि उनी सचिवको कार्यकालभर अन्यत्र नजाने अडानमा रहेपछि राष्ट्रसंघको स्थायी प्रतिनिधिमा उनीपछिको बरियताका सिनियर सहसचिव भरत पौडेलको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।
सामान्यतः यसअघि परराष्ट्र सचिवहरु कार्यकाल नसकिंदै स्थायी प्रतिनिधि भएर न्युयोर्क जाने गर्थे । यसमा बैरागी इच्छुक नदेखिएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव पौडेलको नाम चर्चामा आएको हो ।

यद्यपि राष्ट्रसंघको स्थायी प्रतिनिधिमा दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईको नाम पनि छलफलमा आएको छ । तत्कालीन एमालेनिकट रहेका राईले स्थायी प्रतिनिधि बन्नका लागि पार्टी च्यानलबाट पनि इच्छा जाहेर गरेका छन् । दक्षिण अफ्रिकामा राईको कार्यकाल सकिँदैछ ।
पहिलो चरणमा हाल राजदूत खाली रहेका चार नियोगमा नियुक्ति गरेपछि केही विवादस्पद र अघिल्लो सरकारको राजनीतिक कोटामा गएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी पनि भइरहेको छ ।

मलेसियाको राजदूतमा भने यसअघि नीलकण्ठसँगै सिफारिस भएका उदयराज पाण्डेकै सम्भावना रहेको स्रोतको दाबी छ । नेकपाका नेता पाण्डे तत्कालीन एमालेको विदेश विभागका सदस्य तथा युवा संघका पूर्व अध्यक्ष हुन् । उनी यसअघि साउदी अरबको पनि राजदूत भइसकेका छन् ।
संयुक्त अरब इमिरेटस (युएई) को राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको भनाइ छ । ढकाल परराष्ट्रका सहसचिवमध्ये राजदूत बन्ने अवसर नपाएका व्यक्ति भएकाले यसपटक उनको नाम सिफारिस गर्न लागिएको स्रोतले जनाएको छ ।

भारतको राजदूतमा पठाउने व्यक्तिका बारेमा प्रधानमन्त्री ओलीले अब नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग छलफल गर्ने स्रोतले जनाएको छ । भारतीय राजदूतका लागि नेकपाभित्र डा.राजन भट्टराईको नाम चर्चामा थियो । तर, भट्टराईले काठमाडौं–४ मा निर्वाचन पराजय भोगेलगत्तै आफू अबको ५ वर्ष राजदूत भएर कतै नजाने र पार्टी तथा सरकारको काममा प्रधानमन्त्री ओलीलाई यहीँ बसेर सघाउने बताएका थिए ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका भट्टराईलाई विदेश मामिला र राष्ट्रिय सुरक्षा समेत हेर्ने गरी प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने तयारी छ । प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा पनि सहभागी बनेका भट्टराईले अहिले अनौपचारिकरुपमा प्रधानमन्त्रीलाई सघाइरहेका छन् ।
नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गरिएको सुन्नासाथ प्रचण्डले केपी ओलीलाई भेटेर कडा आपत्ति जनाएका थिए । प्रचण्डकै आपत्तिका कारण उप्रेतीको सिफारिस निस्क्रिय राख्न प्रधानमन्त्री बाध्य बनेको नेकपाका नेताहरु बताउँछन् ।

भारतको राजदूतमा मन्त्री भइसकेका सिनियर नेताबाट सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । यद्यपि व्यक्तिका बारेमा केन्द्रित भएर शीर्षतहमा छलफल भइनसकेको नेकपाका एक सचिवालय सदस्यले बताएका छन् । कतिपयले पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई भारतको राजदूत बनाउन सक्ने अनुमान गरेका छन् । पाण्डे यसअघि चीनको राजदूतमा सिफारिस भए पनि ओली सरकार ढलेपछि नाम फिर्ता भएको थियो ।

तर, पूर्व एमाले नेताहरुको ईच्छाले मात्रै भारतीय राजदूतको चयन हुन मुस्किल छ । किनभने, भारतको राजदूत नियुक्तिमा प्रचण्डले पनि विशेष चासो दिएका छन् । नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गरिएको सुन्ना साथ प्रचण्डले केपी ओलीलाई भेटेर कडा आपत्ति जनाएका थिए । प्रचण्डकै आपत्तिका कारण उप्रेतीको सिफारिस निस्क्रिय राख्न प्रधानमन्त्री बाध्य बनेको नेकपाका नेताहरु बताउँछन् । नेकपा अध्यक्ष प्रचण्ड दुई सातापछि भारत भ्रमणमा जाँदैछन् ।

यी हुन् फिर्ता हुने राजदूत
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पहिलो चरणमा हाल राजदूत खाली रहेका चार नियोगमा नियुक्ति गरेपछि केही विवादस्पद र अघिल्लो सरकारको राजनीतिक कोटामा गएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी पनि भइरहेको छ । श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेल बाहेक कांग्रेस र राप्रपाको कोटाबाट राजदूत नियुक्त भएकाहरुलाई फिर्ता गर्ने परराष्ट्रको तयारी छ ।

फिर्ता बोलाउन लागिएका राजदूतहरुमा कतारका रमेश कोइराला, स्पेनका भरत रायमाझी, इजरायल निरञ्जन थापा, म्यानमारका भीम उदास, बंगलादेशका डा.चोपलाल भुसाल, दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह छन् ।

सरकारले कतारका राजदूत रमेश कोइरालालाई यसअघि नै फिर्ता बोलाउन लागेको थियो । पूर्व श्रममन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङका मेनपावरमा व्यवसायिक साझेदार रहेको आरोपमा सरकारले उनलाई फिर्ता बोलाउने प्रयास गरेको हो । कोइरालासँगै अन्य केही राजदूतलाई पनि फिर्ता गर्ने तयारी भइरहेको र पहिले खाली रहेका नियोगमा नियुक्तिपछि विवादस्पद राजदूतलाई फिर्ता गरिने परराष्ट्र स्रोतले जनाएको छ ।

जापानका राजदूत रहेकी राप्रपा नेतृ प्रतिभा राणालाई पनि फिर्ता बोलाउने सरकारको तयारी छ । उनी देउवा पत्नी आरजु राणाकी आमा हुन् । राणालाई फिर्ता बोलाउँदा सरकारले कांग्रेसबाट विरोधको सामना गर्नुपर्ने सम्भावना छ । उता म्यानपावर व्यवसायीसमेत रहेको आरोप खेपेकी ओमानकी राजदूत शर्मिला पराजुलीले बालुवाटारभित्रै पहुँच बनाएर आफूलाई फिर्ता नबोलाउन लविङ गरिसकेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यी देशमा खाली हुँदैन् राजदूत
कतिपयलाई फिर्ता भएर नयाँ सिफारिस हुने बेलासम्म अन्य केही देशमा पनि राजदूत खाली हुँदैछन् । चार वर्षअघि राजदूत भएर गएका परराष्ट्रका सहसचिवहरुमध्ये केही राजदूतको कार्यकाल आगामी कात्तिकदेखि पुसभित्र सकिँदैछ ।

कार्यकाल सकिन लागेकाहरुमा क्यानडाका कालिप्रसाद पोखरेल, फ्रान्सकी अम्बिका लुइँटेल, थाइल्याण्डका खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका अमृत राई, जेनेभाका दीपक धिताल र कुवेतका यज्ञबहादुर हमाल छन् । यीमध्ये राई, हमाल र पोखरेल बाहेक अरु उमेर हदका कारण घर फर्कदै छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारले हालै राजदूत नियुक्तिसम्बन्धी नयाँ मापदण्ड बनाएको छ । अबको नियुक्ति सोही मापदण्डअनुसार हुने परराष्ट्रका अधिकारीहरु बताउँछन् ।