प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । हिजो सोमवार राति सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि आज संसद् खुल्ने अनुमान थियो ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसकेको बताउनुभयो । अर्को बैठक भोलि बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यसैबीच सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।