हर्षोल्लासका साथ मनाइयो थारु गुरही पर्व

हर्षोल्लासका साथ मनाइयो थारु गुरही पर्व

धनगढी । थारु समुदायमा हर्षोल्लासका साथ गुरही पर्व मनाइएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाइएको थारु अगुवाहरूको भनाइ छ ।  

गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । गुरही थारु समुदायको पहिलो पर्व हो । यो पर्वमा कपडाको गुरहा गुरही (गाईने किरा) बनाएर अपराह्नतिर चौर वा चौबाटोमा सेलाउने चलन रहेको छ । 

गुरहीमा बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने चलन छ । यसलाई स्थानीय भाषामा गुरही असरैना भनिन्छ । 

गुरही सेलाउने कार्य सकिएपछि घुघ्री अर्थात् भुजा सबैले मिलेर बाँडेर खाने चलन छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउनेजस्ता समस्याबाट छुटकारा मिल्ने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट टाढा धपाएको बुझिन्छ । 

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा मनाउँदै आएको सखी सञ्जालले जनाएको छ । नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको सो संस्थाको भनाइ छ ।  

धनगढीस्थित गुरही चौकमा भव्यताका साथ गुरही पर्व मनाइएको छ । सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताए। गुरही पर्व मनाउने कार्यक्रममा गैरथारुको पनि सहभागिता थियो ।