कैलालीपुल–क्याम्पसरोड सडक निर्माण शुरु

कैलालीपुल–क्याम्पसरोड सडक निर्माण शुरु

धनगढी । धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक निर्माणका लागि शिलान्यास भएको झण्डै दुई महिनापछि निर्माण कार्य शुरु भएको छ । 

असार १२ गते सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले शिलान्यास गरेको सो सडकको मंगलबारदेखि निर्माण कार्य शुरु गरिएको हो ।

निर्माण कम्पनिको ठेक्का पाएको केएस कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको जानकारी दिएको छ ।

निर्माण कम्पनिका इन्जिनियर धिरेन्द्र यादवले निर्माण काय तोकिएको मितिमै सम्पन्न गर्ने गरि कार्य अघि बढाइएको बताए । प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको थियो । २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ । १४÷१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ÷डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर यादवले बताए ।

उनले सडकको बीचमा २ मिटरको डिभाइडर समेत रहने बताए । सडक चौडाई गर्न धनगढी उपमहानगरपालिकाले चार सय २८ जना घर धनीले स्वत आफनो घर भत्काएका थिए ।