सुन प्रकरणमा सीआईबीले नै निरन्तरता पाउने

सुन प्रकरणमा सीआईबीले नै निरन्तरता पाउने

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नेबारे थप छलफल गर्न बसेको सर्वदलीय बैठक औपचारिकतामै बसेर सकिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो। बैठक भोलि बिहान ११ बजेका लागि तय भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। 

सोमबार राति बसेको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नेबारे सहमति जुटेको थियो।  त्यसका लागि तीन सदस्यीय कार्यदल गठन भएको छ।

कार्यदलले समितिको मस्यौदा तयार गरिसकेको छ। कार्यदलमा एमालेका सुवास नेम्वाङ,माओवादीका हितराज पाण्डे र  नेपाली कांग्रेसका रमेश लेखक छन्।

नेपाली कांग्रेस प्रमुख सचेतक लेखकले सुन प्रकरणमा सीआईबीले नै निरन्तरता पाउने बताए।  उनले सीआईबीले नै निष्पक्ष र स्वतन्त्र अनुसन्धान छानबिन गरेर तस्करीमा संलग्न व्यक्तिलाई  अभियोजन समेत गरेर निष्कर्षमा पुर्‍याउने दावी गरे।

नेता लेखकले बैठकमा अस्वस्थका कारण एमाले अध्यक्ष ओली उपस्थित नभएको र  थप छलफल गर्नुपर्ने विषय देखिएकाले बैठक भोलिका लागि सारिएको जानकारी दिए। उनले जसरी पनि तस्करी रोकिनुपर्नेमा जोड दिए।

लेखकले सुन तस्करी अन्त्यका लागि अनुसन्धान गर्न जाँचबुझ ऐन २०२६ बमोजिम आयोग बनाउने र त्यो आयोगले काम सुरू गर्ने दलहरूबीच सहमति भएको बताए।