बैतडीमा भायनेटले धमाधम इन्टरनेट सेवा विस्तार गर्दै

बैतडीमा भायनेटले धमाधम इन्टरनेट सेवा विस्तार गर्दै

बैतडी । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले अप्टिकल फाइबरमार्फत बैतडीका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्न थालेको छ । 

शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार भइरहेको भायनेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए । 

ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार कार्यक्रम अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ अन्तर्गत रहेका जरकट्टे, काण्डे र मुडाप गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको महराले बताए । स्थानीयहरुको माग अनुसार उनीहरुको घरमा इन्टरनेट जडान गरिएको हो । 

ग्रामीण बस्तीमा अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान भएपछि सहज भएको स्थानीय अमरबहादुर टेरले बताए । सूचना र प्रविधिको युगमा ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच भएपछि खुसी लागेको उनले बताए । उनले भने ‘गाउँमा इन्टरनेटको पहुँच भएपछि खुसी लागेको छ । पहिलो पटक अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान भएको छ ।’

गाउँमा १० घरधुरीमा अहिले इन्टरनेट जडान भइसकेको छ भने अन्य घरधुरीमा केही दिनमै इन्टरनेट जडान गरिने प्रबन्धक महराले बताए । 

यसअघि देहीमाण्डौं बजारबाट २ किलोमिटर दुरीमा रहेको थलाल गाउँमा समेत अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको थियो । भायनेटले बैतडीका बजार क्षेत्रहरुमा यसअघि नै फाइबरबाट इन्टरनेट सेवा विस्तार गरिसकेको छ । 

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा दिँदै आएको भायनेट आइ.एस.ओ.प्रामाणिक कम्पनी समेत रहेको बताइएको छ ।