धनगढीका मेयर हमालले आफ्नो एक वर्षको पारिश्रमिकबाट गरे विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धनगढीका मेयर हमालले आफ्नो एक वर्षको पारिश्रमिकबाट गरे विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुलाई शैक्षिक साग्रगी हस्तान्तरण गरेका छन् ।

आज मेयर हमालले आफ्नो एक वर्षको आफ्नो तलब सुविधा र त्यसमा केही रकम आफूले थप गरेर ९ लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन् ।

१७ ओटै विद्यालयका बिद्यार्थीहरुका लागि मेयर हमालले प्रति विद्यार्थी ६/६ ओटा कपि, ४/४ ओटा पेन्सिल, २/२ ओटा कटर र २/२ ओटा ईरेजरका दरले ३ हजार ४ सय ८९ बिद्याथीहरुका लागि २० हजार ९ सय ३४ पिस कपि, १३ हजार९ सय ५६ पिस पेन्सिल, ६ हजार ९ सय ७८ पिस कटर र ६ हजार ९ सय ७८ पिस ईरेजर हस्तान्तरण गरेका छन् । 
उपमहानगरको वडा नम्बर १ शान्तिनगरको सरस्वती आबि मा अध्ययनरत ३४२ जना विद्यार्थीका लागि हस्तान्तरण गरिएको छ । क्रमशः वडा नम्बर १३ श्रीलङ्का स्थित नवज्याती आबिका ३सय ३५ जना, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविका ७४ जना, वडा नम्बर ६ मटियारीको भैरबबाबा आबिका १ सय २६ जना, वडा नम्बर ९ बंगराकटानको सरस्वती आबिका १ सय ६५ जना, वडा नम्बर ७ देवरियाको शिव माविका २ सय ८ जना, वडा नम्बर १७ पथरीको भानु माविका ४ सय ७ जना, वडा नम्बर १७ कै दमौलियाको सज्जन आबिका २ सय ७५ जना, वडा नम्बर १६ भादाको दीपेन्द्र चारपाते माविका ८४ जना, वडा नम्बर १४ फूलबारीको शिवशंकर आबिका ६७ जना, वडा नम्बर १४ कै एच गाउँको सिद्धार्थ आबिका १ सय ४७ जना, वडा नम्बर १८ एफ गाउँको खप्तडी आबिका ३८ जना, वडा नम्बर १८ कै ई गाउँको ईन्द्रोदय आबिका १ सय ८७ जना, वडा नम्बर १९ फूलबारीको फूलबारी आबिका ३ सय ४३ जना, वडा नम्बर १२ दुर्गा बस्तीको नवदुर्गा आबिका १ सय ३६ जना, र वडा नम्बर १० जुगेडाको जनकल्याण माविका ३ सय १८ जना बिद्यार्थीहरुका लागि हस्तान्तरण गरेका छन् । 

No description available.

हस्तान्तरण कार्यक्रममा बोल्दै हमालले बिद्यार्थीहरुको हौसला, गुणस्तरीय पढाई र राम्रा नतिजा प्राप्तिका लागि उक्त सामग्री हस्तान्तरण गरेको बताए । उनले भने—“यहाँका सरकारी  विद्यालयका बिद्यार्थीहरुको पढाई राम्रो हुनुपर्‍यो । पढाउनलाई हामी जनप्रतिनिधि गएर पढाउने होइन यस कारण शिक्षकहरूले पनि विशेष ध्यान दिनुपर्‍यो । गरिब, दलित तथा जेहनदार बिद्यार्थीहरुलाई उचित छात्र वृत्तिको समेत व्यवस्था गर्छौँ”।

आउँदो असोज १ गतेबाट उपमहानगरले उत्कृष्ट बिद्यालउलाई उचित पुरस्कारको समेत व्यवस्था गर्ने पनि मेयर हमालले बताए । उनले प्रत्येक वडाको एक विद्यालयलाई नमुना बनाइने बताए । 

मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिती रहेको थियो ।