पुरानै प्रतिवेदनलाई टेकेर नदीजन्य पदार्थ ठेक्कामा लगाउँदै स्थानीय तह

पुरानै प्रतिवेदनलाई टेकेर नदीजन्य पदार्थ ठेक्कामा लगाउँदै स्थानीय तह

धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाले आफनो क्षेत्रभित्रको नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी लगायत) को उत्खन्न तथा संकलनका लागि बोलपत्र आह्वान गरिसकेको छ ।

चार वटा खोलामा नदीजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न नगरपालिकाले साउन १२ गते सूचना जारी गरेको छ । विगतकै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तथा प्रारम्भिक वातावरण परीक्षण (आई) लाई टेकेर नगरपालिकाले सूचना जारी गरेको हो ।

नगरपालिकाले गौरिगंगा नदीमा ४९ हजार, चौमाला नदीमा ३५ हजार तीन सय ९२, शिवगंगा नदीमा ३७ हजार नौ सय ७५, लिक्मा नदीमा २८ हजार पाँच सय ८२ र कटैनी नदीमा २८ हजार चार सय घनमिटर उत्खन्न तथा संकलन गर्ने गरि प्रतिवेदन तयार पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले –‘नदीजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानीका लागि बोलपत्र आह्वान गरिएको छ । अहिले आवेदन परिरहेका छन् । मिति पुुगेपछि आशयपत्र जारी गरिने छ ।’

गोदावरी नगरपालिकाले खैराना, खुटिया र गोदावरी नदीमा नदीजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न मिल्ने गरि अहिले बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले खुटिया नदीमा चार लाख १३ हजार दुई सय ४४ घनमिटर, गोदावरी नदीबाट दुई लाख तीन हजार छ सय २५ र खैराना नदीबाट ३० हजार आठ सय ३८ घनमिटर उत्खन्न गर्न मिल्ने गरि ठेक्का प्रक्रिया अघि बढाएको छ । गत आर्थिक वर्षमा नगरपालिकामा कसैले पनि ठेक्का प्रक्रियामा भाग नलिएपछि नगरपालिकाले आफनै जनशक्ति प्रयोग गर्दै नदीजन्य पदार्थ उत्खन्न गरिरहेको छ । 

अहिले कैलालीका स्थानीय तहहरुले असोजसम्मका लागि नदीजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानीमा रोक लगाएपछि अधिकाँसले नयाँ प्रक्रियाबाट नदीजन्य पदार्थ उत्खन्न, ढुवानी तथा संकलन प्रक्रिया अघि बढाएका छन् ।

स्थानीय तहको मुख्य आयस्रोतको रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) मानिने गरेको छ ।

सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिकाले धनगढीले नदीजन्य पदार्थ उत्खन्न तथा संकलनका लागि प्रतिवेदन तयार गरिरहेको जनाइएको छ । कार्यपालिका बैठकको निर्णयमा भनिएको छ –‘प्रारम्भिक वातावरणीय परिक्षण को समयावधि रहेकाले सोही आधारमा नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन गर्नका लागि तोकेको घाटगद्दी स्थलहरुमा नदीजन्य पदार्थको मात्रा र परिमाणको अवस्था अध्ययन गरि प्रतिवेदन पेश गर्ने गरी कर्मचारी खटाउने छ ।’ धनगढी उपमहानगरपालिकाको घुराही, शिवगंगा, मोहना र खुटिया नदीमा नदीजन्य पदार्थ उत्खनन् हुने गरेको छ ।

धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा नगरपालिकाझै कैलालीका अधिकाँस स्थानीय तहहरुले नदीजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानी प्रक्रिया अघि बढाएको जनाइएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाले गत साउन २९ गते पुरानै प्रारम्भिक वातावरण परीक्षण (आई) प्रतिवेदनलाई टेकेर भदौ २७ गतेसम्म आवेदन दिने गरि ठेक्का प्रक्रिया अघि बढाएको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले बताईन् ।

गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकामा भने सिमा बिबाद छ । चुरे गाउँपालिकाले ठुलीगाडका विभिन्न छ स्थानमा नदीजन्य पदार्थ ३८ हजार चार सय चार घनमिटर उत्खन्न, संकलन गर्न मिल्ने गरि साउन १५ गते सूचना जारी गरिसकेको छ । गाउँपालिकाले सिमा विवाद भएका नदीहरुमा कुनै पनि ठेक्का प्रक्रिया अघि नबढाएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

चुरे गाउँपालिकाको करिब १०-१५ किलो मिटरको भित्री जमिन गौरीगंगाले मिचेको उनले बताए । गौरीगंगा नगरपालिकालाई आर्थिक बर्ष २०७८/७९ मा सर्वोच्च अदालतले नदीजन्य पदार्थ उत्खनन् नगर्न आदेश दिएको थियो । 

भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्रमा बालुवा बाहेक अन्य नदीजन्य पदार्थ छैन । जोशीपुर गाउँपालिकामा नदी पनि नरहेकाले हालसम्म नदीजन्य पदार्थ उत्खनन् गराउन सकेको छैन । पहाडी क्षेत्रमा रहेको मोहन्याल गाउँपालिकाले असोज पहिलो साताबाट उत्खनन् कार्य अघि बढाउने गरी प्रक्रिया भईसकेको र अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्ने मोहन्याल गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदले जानकारी दिए ।

यहाँ मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गर्दा जथाभावी ढुङ्गा गिटी, वालुवा निकाल्दा भू–क्षय र कटानको जोखिम बढ्दै गएको छ ।