बैतडीमा नागरिकता बनाउने घटे, राहदानी बनाउने बढे

बैतडीमा नागरिकता बनाउने घटे, राहदानी बनाउने बढे

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा ६ हजार ३३८ जनाले नागरिकता बनाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसमा ३ हजार ३९६ पुरुष र २ हजार ९४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा ८ हजार ५१४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा ४ हजार २५७ पुरुष र ४ हजार २५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आव २०७७/७८ मा ५ हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने ६ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए । यसैबीच यहाँबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट २ हजार ६८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा २ हजार ४९६ पुरुष र १८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।

यस्तै आव २०७८/७९ मा ६२२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा ५३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि ८०६ जनालाई राहदानीको सिफारिस गरिएको जनाइएको छ । आव २०७७/७८ मा यहाँका ३९२ जनालाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।