सिटिइभिटी अन्तर्गत एचएको पढाइ रोकियो

सिटिइभिटी अन्तर्गत एचएको पढाइ रोकियो

टीकापुर  । कैलाली जोशीपुरकी पूजा महत्तोको प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्सा ९एचए० पढ्ने चाहना यसपालि पूरा नहुने भएको छ । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा एचए पढ्न प्रवेश परीक्षाका लागि फाराम भरेका पूजालगायत विद्यार्थीले पढ्न नपाउने भएका हुन् । सो इन्स्टिच्युटले यस वर्ष भर्ना लिन नपाउने भएपछि विद्यार्थीहरूको एचए पढ्ने सपना पूरा नभएको हो । घर नजिकै पढ्न पाइने भएपछि जानकी गाउँपालिका दुगौलीका सुनील साउद पनि एचए पढ्ने तयारीमा थिए । 

टीकापुरमै पढ्ने योजना अनुसार प्रवेश परीक्षाका लागि फाराम भरेको साउद बताउँछन । एचए पढ्न नपाएका पूजा र सुनील अब व्यवस्थापन विषय पढ्ने तयारीमा छन् । २०४९ सालदेखि सिएमए पढाउँदै आएको सामुदायिक स्वास्थ्य इन्स्टिच्युटलाई सिटिइभिटीले स्तरोन्नति गर्दै यस वर्षदेखि ४० जना एचए पढाउन अनुमति दिएको छ ।

नेपाल सरकारले सिएमए फेजआउट गरेपछि एचए पढाउने अनुमति दिएको हो । सो अनुमति पाइसकेपछि इन्स्टिच्युटले थप ५५ लाख खर्च गरिसकेको छ, इन्स्टिच्युटका उपाध्यक्ष रङ्ग अधिकारी भने, “संस्थाको ३० लाख लगानीमा प्रयोगशाला, सम्बन्धन शुल्कबापत पाँच लाख, धरौटी १५ लाख, निरीक्षण शुल्क एक लाख, कार्यालय व्यवस्थापनमा पाँच लाख खर्च भइसक्यो प्रयोगात्मक अभ्यासका लागि टीकापुर अस्पतालले सहमति दिएको छ । 

पाँच लाख जति कार्यालय व्यवस्थापन खर्च भइसकेको छ । प्रशिक्षक कर्मचारी भर्ना लिइसक्यौँ अन्तिममा एचए पढाउन नपाइने भनेपछि चकित भएका छौँ, उनले भने । २०८० साल साउन ५ गते ४० जनाको कोटा निर्धारण भएको र आवेदन फारम लिन अनुमति दिएपछि प्रवेश परीक्षाका लागि आवेदन लिएको सो इन्स्टिच्युटले जनाएको छ ।  इन्स्टिच्युटको डेढ बिघा जमिनमा आफ्नै तीनतले भवन छ । चिकित्सा शिक्षाको प्रवेश बिन्दु नै एचए र स्टाफ नर्सलाई मानेपछि सिएमए बन्द गरी एचए पढाउन थालेको हो । यसअघि ४० जना सिएमए पढाउँदै आएको संस्थालाई सिटिभिटीले ४० जना भर्ना लिन अनुमति दिएको थियो तर चिकित्सा शिक्षा आयोगले साउन ८ गते सूचना जारी गरी मान्यता नदिने भनेपछि प्रवेश परीक्षा रोकिएको छ ।

सिटिइभिटीका सूचना अधिकारी एकराज अधिकारी सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबिच कार्य क्षेत्रलाई लिएर विवाद भएको बताए । २०४५ सालमा स्थापना भएको र पहिलेको जस्तै काम गर्दै आएको छ त्यस अनुसार नै भर्ना खुलायौँ तर चिकित्सा शिक्षा आयोगले केही संस्थाले आयोगको मापदण्ड पूरा नगरेकाले भर्ना लिन नपाइने भनेपछि रोकिएको छ । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले आयोगले अनुमति दिनुपर्ने संस्थालाई दिइसकेको र बाँकी विषय सिटिइभिटीको भएको बताए । सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबिच समन्वय नहुँदा देशका ५० जति संस्थाले एचएको कक्षा सञ्चालन गर्न नपाउने भएका छन् ।

सिटिइभिटीसँगको सम्बन्धनमा ३० वर्षदेखि सिएमए पढाउँदै आएका सुदूरपश्चिमका तीनवटा संस्था स्तरोन्नति भएर पनि एचएको प्रवेश परीक्षा लिनबाट वञ्चित भएका छन् भने न्यायको ढोका ढक्ढक्याएका केही संस्थाहरूले अदालतको आदेशले भदौ ९ गते प्रवेश परीक्षा लिएका छन् । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडीको इजलासले बुटवल एकाडेमी इन्स्टिच्युट प्रालिसमेतलाई उत्प्रेषण मुद्दाको अल्पकालीन अन्तरिक आदेश दिएको छ । 

यस्तै इलाम टेक्निकल इन्स्टिच्युट, गुणराज पाठक मेमोरियल नर्सिङ कलेज वीरगञ्ज, पदमा हेल्थ कलेज धनगढीका हकमा उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतको आदेशले ती संस्थाहरूले भदौ ९ गते नै प्रवेश परीक्षा लिइसकेका छन् ।