जवानीमा सिकेको सिप बुढेसकालको सहारा

जवानीमा सिकेको सिप बुढेसकालको सहारा

धनगढी । सिपले मान्छेलाई स्वावलम्बी बनाउँछ भन्ने कुराको उदाहरण बन्नुभएको छ, कैलारी गाउँपालिका–२, उजलीसेमराका ७५ वर्षीय वृद्ध हरिराम चौधरी। यो उमेरमा उहाँलाई पैसाका लागि अरूको मुख ताक्नु परेको छैन।  जवानी उमेरमा सिकेको सिपले उहाँलाई आत्मनिर्भर नै बनाएको छ। ज्येष्ठ नागरिक चौधरीले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने) बनाएर बिक्री गर्दै आएका  छन । 

“यो सिप नसिकेको भए, सायदै म यो अवस्थामा हुने थिएन,” चाउरी परेको अनुहार मुसुक्क पार्दै उनले भने, “जमानामा छिटुवा र डिलिया बनाउन सिकेकाले खाली हात बस्नु परेको छैन। 

उनेले बाँसको छिटुवा र डिलिया बनाएर धनगढीसम्म बिक्री गर्दै आउनुभएको छ। माछा राख्ने डिलिया दुई सय, ठुलो छिटुवा ३५० र सानो छिटुवा ३०० मा बिक्री गर्ने गरेको उनले सुनाए। बुढापाकाहरू यस्ता सामग्री बनाउन खप्पिस हुने गर्दछन्।  अन्य काम नभएको बेला  छिटुवा र डिलिया बनाउने गरेको भनाइ चौधरीको छ। “काम नभएको बेलामा त धेरै बनाउन सकिन्छ,” उनले भने, “बुढेसकालमा बैठलसे बेगारी (बसिबियाँलो) जे होस् ठिकै भएको छ।”

ज्येष्ठ नागरिकले मासिक सामाजिक सुरक्षा भत्ता चार हजार रुपियाँसम्म आउँछ। त्योभन्दा बढी उहाँ छिटुवा र डिलिया बेचेर कमाउनुहुन्छ। “त्यति धेरै कमाई त हुँदैन, जे होस् गोजी रित्तो हुँदैन,” उनले भने। आफैँ कमाउने गरेकाले अरूसँग पैसा माग्नुपर्ने अवस्था नआएको भनाइ उनको छ।