अदालतको आदेश लत्याउँदै दक्षिणकाली हाटबजारमा डोजर

अदालतको आदेश लत्याउँदै दक्षिणकाली हाटबजारमा डोजर

धनगढी । कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ ।

सो हाटबजारमा सम्झौता विपरित कुनै पनि कार्य नगर्न तथा नगराउन अदालतको आदेश विपरित उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो ।

जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ –‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’ 

तर, उपमहानगरपालिकाले सम्झौता मिति सकिएको भन्दै त्यहाँ व्यवसायी गरिरहेका व्यापारीहरुलाई अन्यत्र पठाउने गरि डोजर चलाएको थियो । ठेक्का सम्झौता गरेका ओम पाठकले भने –‘अदालतको आदेश आएपछि त्यहाँ ढुक्कसंग व्यवसायीहरुले आफनो व्यापार गरिरहेका थिए । एक्कासी अदालतको आदेश पनि नटेरेर उपमहानगरपालिकाले डोजर चलाएर बनेका संरचनामा क्षति पुर्याएको छ ।’

उपमहानगरपालिकाले पौसमा सम्झौता मिति सकिएको भन्दै सूचना जारी गरेपछि उनी न्यायका लागि अदालतमा पुगेका थिए । उनले भने –‘त्यो ठाउँमा म स्थायी रुपमा ठेक्का लग्ने होइन् । मैले सम्झौता गरेको अवधिसम्म आफनो कारोवार गर्न पाउनुपर्छ मात्र भनिरहेको छु । उपमहानगरपालिकाले म माथि अन्याय गरेको छ ।’

के हो विवाद ?

धनगढी उपमहानगरपालिका र दक्षिणकाली हाटबजार बिचको विवाद छैन् । सो हाटबजार सञ्चालनका लागि उपमहानगरपालिकाले ठेकेदार ओम पाठकसंग २०६७ साल चैतमा सञ्चालनका लागि सम्झौता गरेको थियो । सम्झौता पत्रमा भनिएको छ –‘यो सम्झौता कुनै कारण वस रद्द नभएमा सम्झौता अवधि १५ वर्षको हुने छ । जसमध्ये वढीमा एक वर्ष निर्माण अवधि कायम गरिएको छ ।’

धनगढी उपमहानगरपालिकाले नीजि साझेदारी अन्र्तगत सो हाटबजारमा १५ वर्षको अवधिमा ठेक्का सम्झौता गरेका व्यक्तिले निर्धारित जग्गाभित्र न्यूनतम ३५ वटा तरकारी, १४ वटा फलफुल, १० वटा मासुको खुद्रा बजार, एक बायो ग्यास प्लान्ट, स्लटर हाउस पिसिओ र चिया पसल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बजार व्यवसायीहरुका लागि कोल्ड स्टोर सहितको दुइ वटा रात्रिकालिन भण्डारण कक्षको निर्माण तथा सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

सम्झौता अवधि सकिएपछि सम्बन्धित व्यक्तिले बनेका संरचना उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । यस अनुसार उनले अझै दुई वर्ष सो हाट बजार सञ्चालन गर्न पाउने अवधि रहेको भएपनि उपमहानगरपालिकाले मनोमानी ढंगले सो हाटबजारमा डोजर चलाएको उनको भनाई छ ।
 
सो हाट बजार भुपु सैनिक सहकारी संस्थाले व्यवस्थापन गरिरहेको छ । त्यसका लागि ठेक्का सम्झौता पाएका ओम पाठकसंग सहकारीले सम्झौता गरेको छ । हाटबजारबाट संकलन हुने भाडा सहकारी र कैलाली उद्योग वाणिज्य संघको संयूक्त खातामा संकलन हुने गरिरहेको छ । उपमहानगरपालिकाले सो भाडामा आफनो खातामा आउनुपर्ने भन्दै हाटबजार हटाउने रणनीति गरेको आरोप लागेको छ ।

‘अहिले हाट बजारमा व्यवसायी गरिरहेका व्यापारीलाई गोपाल हमालले व्यक्तिगत रुपमा भेटघाट गर्दै भाडा उपमहानगरपालिकाको खातामा हाल्न लगाउने नहाले डोजर चलाउने भन्दै व्यापारीलाई धम्की दिइरहेका छन’ पाठकले भने ।

उपमहानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४१७०१००३०३०००००२ मा भदौ १० गते सबै व्यवसायीहरुले दाखिला गरिसक्नुपर्ने निर्णय एकलौटी रुपमा गरिएको छ । 

बजार नहेरी हटाइदै

धनगढी उपमहानगरपालिकाका खुद्रा तथा थोक पसलहरुलाई आवश्यक तरकारी सोही हाट बजारबाट लगेर विक्री वितरण गर्दै आएका छन् ।

बजारमा तरकारी अभाव हुन नदिन सो हाट बजार सञ्चालन आएपनि अहिले नगर प्रमुख हमालले त्यसलाई व्यवस्थित गर्नुभन्दा हटाउने रणनीति अघि बढाएका छन् । हाट बजारमा बनेका संरचना भत्काएपछि त्यहाँका व्यवसायीहरु कहाँ व्यापार गर्ने भन्ने अन्यौलमा छन् ।

पालिका र नीजि साँझेदारीमा सम्झौता गरि बनाइएका संरचना अवधि नसकिदै भत्काउने प्रयास उपयूक्त नभएको जनाइएको छ । आफनै संरचनालाई भत्काएर व्यापारीक भवन बनाउने प्रयास नगर प्रमुख हमालको रहेको जनाइएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी थालनी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

दक्षिणकालीमात्र होइन धनगढीको मुख्य सडकमा रहेको हाट बजारभित्र पनि उपमहानगरपालिकाले तरकारी, फलफुलका होलसेल पसल सञ्चालन बन्द गरेको छ । उपमहानगरपालिकाले त्यहाँ परिचयपत्र वितरण गर्दै स्थानिय कृषकले मात्र विक्री वितरण गर्न पाउने प्रावधान बनाएको छ । स्थानीय उत्पादन र आयातको तुलना नगरि उपमहानगरपालिकाले आफनै बनेका संरचनाको प्रवद्र्धन गर्नुभन्दा भत्काई नीजि क्षेत्रलाई प्रशय दिने प्रयास भइरहेको छ ।

धनगढीमा अहिले व्यापारिक भवन रहेको चौलानी डिपार्टमेण्टल स्टोरले नीजि जग्गा लिजमा लिई तरकारी तथा फलफूलको होलसेल पसल सञ्चालन गरिसकेको छ । अन्य लगानीकर्ता पनि यहाँको मागका आधारमा व्यापार विस्तार गर्ने सोचमा रहेका छन् । यसरी नीजिकरण हुँदै गए उपमहानगरपालिकाका उपभोक्ताहरुले महँगो मूल्यमा तरकारी, फलफूल तथा माछामासु खरिद गर्नुपर्ने अवस्था आउने छ ।