इञ्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन त्रिविको निर्देशन

इञ्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन त्रिविको निर्देशन

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बास्कोटासहित पदाधिकारी र आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनबीच ५ बुँदे सहमतिपछि त्रिविले बढेको शुल्क फिर्ता लिन निर्देशन दिएको हो ।

हिजो भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति बास्कोटा र ५ विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायत सहभागी थिए । २६ वर्षदेखि शुल्क वृद्धि नहुँदा इञ्जिनियरिङका आङ्गिक क्याम्पस चल्नै नसक्ने अवस्था आएको भन्दै संस्थानले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी स्नातक तहको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । अब नयाँ शुल्क कायम भएपछि मात्रै आउँदो शैक्षिक सत्रको प्रवेश परीक्षा सञ्चालन गरिने भएको छ ।

विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिबाट शुल्कका विषयमा ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस हुनेछ । डिन कार्यालयका अन्य परीक्षा यथावत् सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । शुल्क वृद्धिको निर्णय फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनहरुले प्रदर्शन र आमरण अनसन गर्दै आएका थिए ।