धनगढी नगर प्रहरीद्वारा दुई महिनाको अवधिमा १७५ सर्पको उद्धार

धनगढी नगर प्रहरीद्वारा दुई महिनाको अवधिमा १७५ सर्पको उद्धार

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले दुई महिनाको अवधिमा १७५ सर्पको उद्धार गरेका छन् । सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले नगर क्षेत्रमा मानिसको घर‚ गोठ‚ ओछ्यानमुनि‚ भान्सामा पसेका सर्प उद्धार गर्दैआएका छन् ।

तालिम लिएर विषालु र विषालुरहित गरेर १७५ सर्पको उद्धार गरिसकेको नगर प्रहरी कृष्ण भट्टले जानकारी दिए । सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर उद्धार गर्नेगरेको उनले बताए ।

नगर प्रहरीले अहिलेसम्म अति विषालु गोमन सर्प ६३ वटा‚ लक्ष्मी नाग (बेन्डेट करेत) १५ वटा‚ करेत आठ वटा‚ भाइपर चार वटाको उद्धार गरेको जनाएको छ । यसैगरी‚ राजगोमन सर्पका सात वटा बच्चाको उद्धार गरिएको भट्टले बताए । त्यस्तै‚ धामन सर्प ४६ वटा‚ पानी सर्प १९ वटा‚ अजिङ्गर एक वटाको उद्धार गरिएको छ ।

वडा ६ मा राजगोमन सर्पको बच्चा भेटिएको भट्टले जानकारी दिए । उद्धार गरिएका सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा बस्तीभन्दा केही टाढाको जङ्गलमा छाडिने गरेको भट्टले बताए ।

धनगढीमा यसअघिसम्म सर्प उद्धारकर्ता टोली थिएन । धनगढी उपमहानगरपालिकामा कार्यरत २५ जना सबै नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी तालिम उपलब्ध गराएपछि नगर प्रहरीहरू अन्य कामको साथै सर्प उद्धारमा खटिने गरेका छन् ।