ग्लोबल आईएमई बैंकले सञ्चालनमा क्यास तथा चेक डिपोजिटर मेसिन ल्यायो

ग्लोबल आईएमई बैंकले सञ्चालनमा क्यास तथा चेक डिपोजिटर मेसिन ल्यायो

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । 

मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत् ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएको छ । 

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाण्डौ उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ । यस्तै, काठमाण्डौ उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाण्डौ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकाङ्क्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए । 

उहाँले ग्लोबल आईएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेसिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए ।