पत्रकारिता नागरिकलाई उत्साह दिने हुनुपर्छ: अध्यक्ष पोखरेल

पत्रकारिता नागरिकलाई उत्साह दिने हुनुपर्छ: अध्यक्ष पोखरेल

हेटौँडा । नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले अबको पत्रकारिता नागरिकलाई सकारात्मक काम र बाटोमा लाग्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले हत्या, हिंसा, तोडफोडलाई अभिप्रेरित गर्नेभन्दा रचनात्मक हुनुपर्ने भन्दै नागरिकलाई सकारात्मक काम र मार्गमा लाग्न उत्साह दिने, उत्प्रेरित र अभिप्रेरित गर्नेगरी पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । 

पत्रकार महासङ्घ मकवानपुर शाखाले हेटौँडामा बुधबार आयोजना गरेको फिचर सङ्गालो पुस्तक विमोचन तथा सामग्री हस्तान्तरण कार्यक्रममा उनले पत्रकारिता क्षेत्रका लागि तीनै तहको सरकारबाट सहयोगको अपेक्षा र आवश्यकता बताउँदै त्यो नीतिगत रुपमा हुनुपर्ने र पारदर्शी हुनुपर्ने बताए । 

‘हाम्रो समाजका सबै संरचना स्खलित हुँदैगएका छन्, संरचना कमजोर भएको छ, कमजोर संरचनाबाट नागरिकले लोकतन्त्रको लाभ लिन सक्दैनन्, हामी आफैबाट सुधार गर्नु आवश्यक छ’ उनले भने ।

पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नं। ४ का वडाध्यक्ष नविन सिग्देल र पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारिताको अवस्था र महासङ्घमा सदस्यता शुद्धिकरणका बारेमा बोलेका थिए।  गोरखापत्र