२० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीबाट नष्ट

२० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीबाट नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पु¥याएको हो।

स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित बनेका छन्। एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उनले बताएका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ बजेतिर हात्तीको बथान धानखेतमा छिरेको स्थानीय जया धामीले बताए।

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पु¥याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताएका छन्। नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काले बताए।

यसैबीच सोमबार बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पु¥याएको स्थानको अवलोकन गरेका छन्। मन्त्री धामीसमक्ष स्थानीयले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग समेत गरेका छन्।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्। निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पु¥याउँदै आएको छ।