एसईई खारेज गर्ने प्रस्तावसहित विधेयक संसदमा दर्ता

एसईई खारेज गर्ने प्रस्तावसहित विधेयक संसदमा दर्ता

सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । संसद्‍मा दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० खारेज गर्ने प्रस्ताव गरिएको छ । 

प्रस्तावित विधेयक पारित भएमा राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा १२ को मात्रै परीक्षा  सञ्चालन गर्नेछ ।यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था गरिएको थियो । यद्दपी राष्ट्रिय परीक्षा बोर्डले नै उक्त परीक्षा लिइरहेको थियो।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक दर्ता गरेका हुन् । उक्त विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएको छ।

यसैगरी, प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने लेखिएको छ । कक्षा ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा उल्लेख गरिएको छ ।

राष्ट्रिय मापदण्डको अधीनमा रहेर शिक्षा कार्यालयले आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र र स्थानीय तहले ऐच्छिक विषयको प्रश्नपत्र  निर्माण गर्नु पर्ने प्रस्ताव पनि गरिएको छ ।