धनगढी : १३ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा प्रहरीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको भिमदत्त नगरपालिका, १८ का सन्नी खुनालाई सहिद घोषणाका लागि आग्रह गर्ने निर्णय गरिएको छ ।
शनिवार बसेको सर्वपक्षीय सर्वदलीय बैठक खुनालाई सहिद घोषणाका लागि आग्रह गर्नुका साथै मृतकका परिवारलाई क्षतिपूर्ति र घाईतेका उपचार निशुल्क उपचारका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
आन्दोलनका क्रममा भएका तोडफोड र प्रहरीले चलाएको गोलीका विषयमा समेत छानविन गर्नका लागि गृह मन्त्रालयलाई आग्रह गरिने भएको छ ।
निष्पक्ष छानविनका लागि थप विरोधका कार्यक्रम शनिवारबाटै बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा कफ्र्यू हटाउने विषयमा छलफल भएपनि निष्कर्ष भने निष्कन सकेन ।
बैठकमा राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी लगायतको सहभागिता थियो ।