राष्ट्रिय शिक्षा दिवस आज मनाइँदै

राष्ट्रिय शिक्षा दिवस आज मनाइँदै

काठमाडौं । ‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त ७ सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै, छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।

समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कार मात्रै वितरण हुने र पदक वितरणको सूचनापछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी १ सय ७७ पुरस्कृत हुनेछन् । 

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत ९ जेठको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।