निर्वाचन प्रक्रिया ११ गते शुरु हुने, १२ गते मतदान

निर्वाचन प्रक्रिया ११ गते शुरु हुने, १२ गते मतदान

धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रदेश सभाका सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन सभामुख भीमबहादुर भण्डारीले आइतबार प्रदेश सभा सदस्यहरुसंग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यतालिका प्रदेश सभाको सूचना पाटीमा टाँस गरि सार्वजनिक गरिएको सभामुख भण्डारीले जानकारी दिए ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरिने छ । मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ । 

प्रदेशको विषयगत समिति गठन भएको पाँच महिना बढी भइसकेको छ । समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बसाउने गरेका छन् । जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो । 

प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरि छ दल र एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार बनेको छ । एक मन्त्री र राज्यमन्त्री पाएको उन्मुक्ति पार्टीले संसदीय समितिमा दुई जना सभापति आफ्नो हुनुपर्ने दाबी गरिरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विषयगत समितिको सभापतिको दाउमा रहेको छ ।