टिकटक प्रतियोगितामा  बैतडीका जेआर भट्ट प्रथम

टिकटक प्रतियोगितामा  बैतडीका जेआर भट्ट प्रथम

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज (जेआर) भट्ट प्रथम भएका छन् । गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन । प्रथम भएका भट्ट टिकटकमा लोकप्रिय बन्दै गएका छन् ।  

टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्धितिय भएका छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ । सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र नयाँ नेपाल एफएममा कार्यरत पत्रकार उद्धवसिंह धामी रहेका छन् ।

टिकटक प्रतियोगिता विजेता हुनुभएका सहभागी र सान्त्वना स्थान प्राप्त गर्ने सहभागीलाई विश्व पर्यटन दिवस तथा अपि हिमाल भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा पुरस्कृत गरिने अपि हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन क्षेत्रमा सामाजिक सञ्जालको उपदेयतालाई मध्यनजर गर्दै अपि हिमाल गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्न टिकटकको प्रतियोगिताको आयोजना गरेको थियो । सहभागीहरूलाई लाइक,भ्युज र समेटिएका विषयवस्तुका आधारमा छनौट गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार द्धितिय हुनेलाई ७ हजार र सान्त्वना स्थान हात पारेका ५ जनालाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार तथा प्रमाणपत्र सहित प्रदान गरिने गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनुभयो ।

 टिकटक भिडियो असोज १ देखि ७  गते दिउसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयवस्तुको गहनता, प्रस्तुतीकरण आदिका आधारमा ६० प्रतिशत भार विनियोजन गरी मुल्याकंन गरिएको हो ।