धनगढीका भित्री सडकहरुमा खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

धनगढीका भित्री सडकहरुमा खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी तथा प्रदेशकै एउटा मात्र उपमहानगरपालिका रहेको धनगढी मुख्य सडकदेखि भित्री सडकहरुसम्म खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

कैलाली जिल्लाको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । वर्षामा डुबान र हिलो हुने यो सडक अन्य समयमा खाल्डाखुल्डी र धुलोले स्थानीय हैरान छन् ।

यहाँका बजार क्षेत्र तथा गल्लीहरुमा रहेका सडक सुधारमा धनगढी उपमहानगरपालिका, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायहरूले ध्यान नदिँदा समस्या भएको स्थानीयहरूको भनाइ रहेको छ । 

धनगढी चौराहादेखि विशाल नगरसम्मको सडकमा ठाउँ ठाउँमा खाल्डाखुल्डी भए पनि मर्मतमा कसैको पनि ध्यान जान सकेको छैन । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको बिशालनगर बस्ने अटो रिक्सा चालक गंगा केट्टारीले बताए ।

साँघुरो र खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै निकै समस्या भएको बिशालनगरका अटो चालक मोहन विष्टले बताए । बर्षातको समयमा डुबान हुने, भेल सडकमै बग्ने गरेको र त्यसले गर्दा सडकमा खाल्डाखुल्डी हुने भए पनि व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । 

यता, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले वडा नम्बर ३ भित्रका सडक छिट्टै मर्मत गरिने बताए । उनले भने—“भर्खर बर्षात् सकिँदै छ अब हामी निरन्तर रूपमा सडक मर्मत  कार्य गर्छौँ । गत वर्ष ३० लाखको टेन्डरमा ५० प्रतिशत ग्राभेल गरियो अहिले ग्राभेलको समान सकिएको छ समान मगाएर तुरुन्तै मर्मत कार्यले गति लिनेछ ।”

धनगढी चौराहा देखि रिडरोड जोड्ने सडकको भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले अनुगमन तथा निरीक्षण समेत गरिसकेका छन् । उक्त रोडको डिपिआर तयार गरी टेन्डर खोल्ने तयारीमा रहेको वडाध्यक्ष ऐरले जानकारी दिए ।

धनगढी चौराहा देखि विशाल नगर, कैलाली पुल, एलएन चोक, पुष्पलाल चोक, पुरानो फूलबारी बसपार्क तथा क्याम्पस रोडको बिच सडकमा खाल्डाखुल्डी हुँदा समस्या हुनका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

धनगढीका भित्री सडकमा खाल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायहरू मौन रहेका छन् । सडक मर्मतमा धनगढी उपमहानगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान सकेको छैन ।

No description available.

No description available.

No description available.
No description available.